विराटनगर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
आयोगले शाहलाई आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ। निर्वाचन प्रचारप्रसारका क्रममा शाहले भोट माग्दै गरेको श्रव्यदृश्य सामग्रीमा सादा पोसाकका प्रहरी संलग्न भएको भन्दै उजुरी परेपछि आयोगले पुनः स्पष्टीकरण माग गरेको हो।
शाहको प्रचारका क्रममा निजकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कसो भएको हो भन्नेबारे तीन दिनभित्र जवाफ माग गरिएको आयोगले जनाएको छ। यसअघि एमाले अध्यक्ष केपी ओलीलाई ‘हत्यारा’ किटान गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ शाहले दिए नदिएको आयोगले बताएको छैन ।
शनिबारसम्म आयोगले २१ जनासँग स्पष्टीकरण माग गरिसकेको जनाएको छ । आइतबार र सोमबार गरी थप ९ जनालाई स्पष्टीकरण सोधेको आयोजको भनाइ छ । तीमध्ये १४ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाविरुद्ध उजुरी परेपछि स्पष्टीकरण सोधिएको छ । थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनालाई जोडेर बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गर्दै अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको, मुख्यमन्त्री कार्यालयमै गएर अमर्यादित अभिव्यक्ति दिएको र सामाजिक सञ्जालमा त्यस्तै सामग्री पोस्ट गरेको आरोप छ।
आयोगले थापालाई मुख्यमन्त्री बानियाँप्रति अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिएको हो वा होइन, साथै आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ अनुसारको व्यवस्था पालना गरेको हो वा होइन भन्ने विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। थापाले आचारसंहिताको दफा २१ को खण्ड (च) तथा दफा २५ को उपदफा (१) का खण्ड (च) र (ज) उल्लङ्घन गरेको उजुरीको आधारमा स्पष्टीकरण माग गरिएको प्रवक्ता जिसीले बताए।
आयोगले निर्वाचन उम्मेदवार लक्षित भ्रामक, अमर्यादित र आचारसंहिताविपरीत सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति र सञ्चारमाध्यमको हकमा प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि पत्राचार गरिसकेको जनाएको छ। साथै रुद्र गिरी र अशोक टमानीसहितका व्यक्तिसँग पनि आचारसंहिता उल्लङ्घनको आशंकामा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको कडाइका साथ अनुगमन जारी राख्ने चेतावनी दिँदै उल्लङ्घन पुष्टि भए कानुनबमोजिम कारबाही हुने बताएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।