विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ मा चर्को राजनीतिक दबाबमा परेका छन् । त्यही दबाबको पृष्ठभूमिमा उनले आफ्ना क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै क्षमायाचनासहितको पत्र पठाउन थालेका छन्।
आफूबाट विगतमा अपेक्षित न्याय हुन नसकेको स्वीकार गर्दै कोइरालाले अन्तःकरणबाट क्षमा गर्न आग्रहसहित फेरि एक पटक विश्वास गरेर साथ दिन अपिल गरेका छन्।
पत्रमा डा(कोइरालाले राष्ट्रिय राजनीतिमा देखिएका अस्थिरता, निराशा र विचलनको सन्दर्भ उल्लेख गर्दै आफ्ना समर्थकहरूप्रति आत्मालोचनात्मक भाव व्यक्त गरेका छन्। ‘मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु,’ पत्रमा उल्लेख छ ।
कोइरालाले आफू नेपाली कांग्रेसको आदर्श, इतिहास र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै एक पटक फेरि उम्मेदवारका रूपमा जनतामाझ आएको बताएका छन्। पत्रमा उनले आगामी निर्वाचनमा विभिन्न नयाँ–पुराना राजनीतिक दल र उम्मेदवार भोट माग्न आउने उल्लेख गर्दै नेपाली कांग्रेसको तर्फबाट रुख चुनाव चिह्न लिएर आफू पनि घरदैलोमा आएको बताएका छन्।
भावी पुस्ताले देशभित्रै आफ्नो भविष्य देख्न सक्ने नेपाल निर्माणका लागि सबै एकताबद्ध हुनुपर्ने उनको आग्रह छ। उनले रुख चिह्नमा अत्यधिक मतदान गरेर नेपाली कांग्रेसलाई विजयी बनाउन अपिल गरेका छन्।
कोइरालाको यो अवस्था क्षेत्रमा भोगिरहेको गहिरो राजनीतिक संकटको संकेतका रूपमा हेरिएको छ । २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कोइरालामाथि सांसदका रूपमा अपेक्षित विकास पहल नगरेको, जनताका प्रत्यक्ष मुद्दा नबोकेको र क्षेत्रीय स्तरमा प्रभावकारी उपस्थिति देखाउन नसकेको आरोप कार्यकर्ता र मतदाताबाट लाग्दै आएको छ ।
पार्टीको आन्तरिक राजनीतिले पनि उनको अवस्थालाई झनै जटिल बनाएको छ । शेरबहादुर देउवाइतर पक्षको नेतृत्व गर्दै आएका डा.कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्दा त्यसको खुलेर विपक्षमा उभिए। उनले विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि उनले देशी–विदेशी षड्यन्त्रमा पार्टी फुटाइएको अभिव्यक्ति दिए ।
कोइरालाले गगन थापाहरुमाथि कारबाही गर्ने प्रस्ताव आएको कांग्रेसको बैठकमा उनी सहभागी भएका थिए भने थापाको नेतृत्वमा विषेश महाधिवेशन आयोजना हुनुलाई देशी र विदेशी षड्यन्त्रको संज्ञा दिएका थिए । उनले सुरुमा चुनाव नलड्ने घोषणा गरेपनि अन्ततः सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवार बने ।
कोइरालाको राजनीतिक अडानप्रति तल्लो तहसम्म नै प्रश्न उठिरेहेको छ । पार्टीभित्र उनका विश्वासपात्र रहेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले पनि विषेश महाधिवेशनबाट उनको साथ छाडेका थिए । तल्लो तहसम्म उनीप्रति चर्को असन्तुष्टि रहेकोले उनले खुलेर चुनाबी अभियान सञ्चालन गर्न पनि सकेका छैनन् ।
‘पहिले विरोध, पछि त्यही नेतृत्वको टिकट’ भन्दै उनलाई कार्यकर्ताले नै प्रश्न गरिरहेका छन् । क्षेत्रमा सांसद भएर पनि उल्लेखनीय विकास नदेखिएको, जनताका समस्या संसद् र सरकारसम्म प्रभावकारी रूपमा नपुर्याएको आरोपसँगै पार्टीभित्रको यो द्वन्द्वले उनको आधार कमजोर बनाएको विश्लेषण भइरहेको छ।
दबाबमा रहेका कोइरालाले पत्रमार्फत् आफ्ना पुराना समर्थक र असन्तुष्ट कार्यकर्तालाई फकाउने प्रयास गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।