विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिता विपरीत मतदाताको गोपनीयता भंग हुने गरी सोधिने प्रश्न र सामग्री प्रसारण तत्काल रोक्न चेतावनी दिएको छ ।
अनलाइन मिडिया, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्तालाई ‘कुन दल वा उम्मेदवारलाई भोट दिनुहुन्छ ?’ जस्ता सोध्न प्रशासनले रोक लगाएको हो ।
मतदातामाथि दबाब सिर्जना गर्ने गतिविधि बढेको गुनासो आएपछि प्रशासनले सूचना जारी गर्दै यस्तो कार्य गैरकानुनी भएको स्पष्ट पारेको छ । फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमार्फत केही अनलाइन सञ्चार माध्यम र सामग्री उत्पादकले सर्वसाधारण तथा मतदातासँग गोपनीय मताधिकार भंग हुने प्रश्न सोधिरहेको पाइएको प्रशासनको भनाइ छ ।
निर्वाचन आचारसंहिता विपरीत हुने यस्ता गतिविधि अब उपरान्त पनि दोहोरिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी सूचनामा उल्लेख गरिएको छ । सूचना निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीद्वय अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईँद्वारा संयुक्त रूपमा हस्ताक्षरित छ ।
निर्वाचन आचारसंहिता अनुगमनको कार्यालय झापाले सामाजिक सञ्जाल अनुगमनलाई थप कडा बनाएको जनाएको छ। ‘कुन पार्टी र कुन चुनाव चिन्हमा मतदान गर्नुहुन्छ ?’ भन्ने प्रश्नले मतदाताको गोपनीयता भंग गर्ने र निष्पक्ष निर्वाचन प्रक्रियामा असर पार्ने ठहर गर्दै यस्ता प्रश्न सोध्न रोक लगाइएको हो।
सूचनामा ‘कुन उम्मेदवारलाई मतदान गर्नुहुन्छ’ वा ‘कुन चुनाव चिन्हमा भोट हाल्नुहुन्छ’ भन्ने शैलीका सोधपुछ व्यापक रूपमा देखिएकाले तत्काल नियन्त्रण आवश्यक परेको उल्लेख छ। पछिल्लो समय झापा–५ मा धेरै उम्मेदवार प्रतिस्पर्धामा रहेपनि कतिपय युट्युबर र मिडियाकर्मीले दुई जना मात्र उम्मेदवारलाई केन्द्रमा राखेर ‘दुईमध्ये कसलाई रोज्नुहुन्छ ?’ भन्ने दबाबमूलक प्रश्न गर्दै क्षेत्र घुमिरहेका छन् ।
यस्तो कार्यले मतदातालाई भ्रममा पार्नुका साथै निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लंघन गर्ने भएकाले रोक लगाइएको प्रशासनले जनाएको छ। निर्वाचन आयोगले सामाजिक सञ्जाल र चुनावी प्रचारप्रसारमा कडाइ गरेसँगै डिजिटल प्लेटफर्मको प्रयोगमा थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको प्रशासनको ठहर छ।
सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने भ्रामक सन्देश र दबाबमूलक प्रचार रोक्न आयोगले प्लेटफर्महरूसँग समन्वयसमेत गरिरहेको जनाएको छ । झापा प्रशासनले सबै सञ्चार माध्यम र सामग्री उत्पादकलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । मतदाताको गोपनीय मताधिकारको सम्मान गर्दै स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनमा सहयोग गर्न प्रशासनले सबै पक्षलाई सचेत गराएको छ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।