काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ मा भारतविरुद्ध हुने कम्तीमा एक खेल बहिष्कार गर्ने घोषणा गरेको छ।
पाकिस्तान सरकारले फेब्रुअरी १५ मा भारतसँग तय भएको खेलमा आफ्नो क्रिकेट टोली मैदानमा नउत्रने स्पष्ट पारेको हो ।
आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ। पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा इस्लामिक गणतन्त्र पाकिस्तानले प्रतियोगितामा सहभागी हुन अनुमोदन गरेपनि भारतविरुद्धको खेलमा सहभागिता नहुने जनाएको छ ।
यो घोषणा पछिल्ला दिनहरूमा पाकिस्तान क्रिकेट टोलीलाई भारतविरुद्धको खेल खेल्न नदिने सम्भावनाबारे आएका विभिन्न रिपोर्टहरूबीच सार्वजनिक भएको हो । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले प्रधानमन्त्री शाहबाज शरीफसँगको भेटपछि सरकारले सबै विकल्पहरू विचार गरिरहेको बताएका थिए।
यसैबीच, सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेपछि स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको थियो । पीसीबी अध्यक्ष नकवीले यस निर्णयलाई गलत ठहर गर्दै आईसीसीमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका थिए।
यसअघि पनि भारतीय क्रिकेट टोलीले पाकिस्तानमा आयोजना भएको च्याम्पियन्स ट्रफीमा खेल्न अस्वीकार गरेपछि भारतका खेलहरू दुबईमा सारिएका थिए । नकवीले आईसीसीले निष्पक्ष व्यवहार नगरे थप विकल्प खुला रहेको बताएका छन् ।
पाकिस्तानको घोषणापछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। क्रिकेट कमेन्टेटर हर्षा भोगलेले पाकिस्तान विश्वकपमा सहभागी भएर भारतविरुद्ध नखेलेमा आईसीसीको कदम चासोको विषय बन्ने बताएका छन् ।
पूर्व भारतीय क्रिकेटर मदन लालले भने पाकिस्तान सरकार र पीसीबीको निर्णयले आफ्नै क्रिकेटलाई नोक्सान पुर्याउने टिप्पणी गरेका छन् । उनका अनुसार यस्तो निर्णयले न त समस्या समाधान हुन्छ न त क्रिकेटको हित सुरक्षित हुन्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।