लोड हुँदैछ...

मेनु

मोदी जिताउन सारथिको रुपमा सक्रिय छन् खतिवडा

‘पहिले दलसँग गठबन्धन, अहिले जनतासँग मोदीले गर्दैछन् महागठबन्धन’

‘पहिले दलसँग गठबन्धन, अहिले जनतासँग मोदीले गर्दैछन् महागठबन्धन’

विराटनगर । आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका अमनलाल मोदीले आफ्नो चुनावी अभियानलाई आक्रामक र व्यवस्थित बनाएका छन् । चुनावी रणनीति र परिचालनका सारथि छन् पार्टीका केन्द्रीय सदस्य तथा विगमा नेकपा एमालेका अनुभवी नेता रुपेश खतिवडा । विगतमा विभिन्न राजनीतिक दलहरूसँग गठबन्धन गरेर चुनाव जितेका मोदी यसपटक एक्लै चुनावी मैदानमा उत्रिएका छन् । परिचालन समितिका कमाण्डर खतिवडाको भनाइमा यसपटक मोदीले ‘कुनै दलसँग नभई सिधै ‘जनतासँग महागठबन्धन’ गरेका छन् ।’

साता दिनमै २१ वडामा प्रभाव विस्तार

नेपाली कम्युनिष्ट पार्टीले चुनाव प्रचार र तयारीलाई कति तीब्र बनाएको छ भन्ने कुराको प्रमाण उनीहरूको साता दिनको दौडधूपले देखाउँछ । उम्मेदवार अमनलाल मोदी र निर्वाचन परिचालन समितिका संयोजक रुपेश खतिवडाको सक्रियतामा सात दिनको अवधिमा क्षेत्र नम्बर ४ का २३ मध्ये २१ वटा वडामा सम्पर्क कार्यालय स्थापना भइसकेका छन् । ती वडाहरूमा वडास्तरीय कार्यकर्ता भेला, निर्वाचन प्रशीक्षण, र भेटघाट कार्यक्रमहरू सम्पन्न भएका छन् । मोदीले जनताको घरदैलोमा पुगेर विगतमा आफूले गरेका कामको समीक्षा र आगामी योजनाका बारेमा छलफल गरिरहेका छन् ।

अमनलाल मोदीको यसपटकको चुनावी अभियानको एउटा थपिएको तागत अनुभवी नेता रुपेश खतिवडा पनि हुन् । ३० वर्षभन्दा लामो समय नेकपा एमालेमा रहेर मोरङ जिल्ला सचिवको जिम्मेवारी सम्हालीसकेका खतिवडा निर्वाचन परिचालनमा अनुभवी मानिन्छन् । एमालेमा रहँदा कैयौँ चुनावहरू सफलतापूर्वक परिचालन गरेका खतिवडा अहिले नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा मोदीलाई जिताउने अभियानमा अहोरात्र खटिएका छन् ।

खतिवडा भन्छन्, ‘मलाई मेरो पुरानो अनुभव र यस क्षेत्रको भूगोलको राम्रो ज्ञान छ । जनताले यसपटक बाहिरिया वा काम नगर्ने उम्मेदवारलाई भन्दा पनि आफ्नो दुःख–सुखमा साथ दिने उम्मेदवारलाई रोज्नेछन् ।’ मोदी र खतिवडाको यो जुगलबन्दीले विपक्षी खेमामा हलचल पैदा गरेको छ ।

मोदीको लोकप्रियता र खतिवडाको सांगठनिक चातुर्यताको फ्युजनले क्षेत्र नम्बर ४ मा अन्य दलका उम्मेदवारहरूलाई रक्षात्मक अवस्थामा र्पुयाएको छ । खतिवडाले गाउँ–गाउँमा पुगेर कार्यकर्तामा ऊर्जा भर्ने र मतदातालाई स्पष्ट राजनीतिक दिशानिर्देश गर्ने काम गरिरहेका छन् ।

जनताका बिचमा खतिवडाको गर्जनः ‘अहिलेको लडाइँ धर्तीपुत्र र अवसरवादी बिचको हो’

चुनावी अभियानका क्रममा टोल–टोलमा पुगेर खतिवडाले दिने गरेका मन्तव्यले मतदातालाई निकै प्रभावित पारेको छ । उनले आफ्ना सम्बोधनहरूमा मुख्यतया चारवटा कुरामा जोड दिँदै आएका छन्ः

पहिलो, अप्राकृतिक गठबन्धनको भण्डाफोरः खतिवडाले कांग्रेस र एमालेबिचको पछिल्लो समयको गठबन्धनलाई‘ुअप्राकृतिक र सत्तास्वार्थको साठगाँठ’ भन्दै कडा आलोचना गर्ने गरेका छन् । उनले भनेका छन्, ‘विचार र नीति नमिल्ने दलहरू केवल सत्ताका लागि मिलेका छन् । यिनीहरूकै कारण देशमा भ्रष्टाचार र कुशासन बढेको हो ।’ उनले हालैका आन्दोलनहरूमा ७६ जना युवाले ज्यान गुमाउनुपरेको घटना स्मरण गराउँदै सरकारको असफलताको फेहरिस्त जनताका बिचमा राख्ने गरेका छन् ।

दोस्रो, मोदीको ‘धर्ती पुत्र’ पहिचानः खतिवडाले मोदीलाई यस क्षेत्रको भूगोल, संस्कृति र माटो बुझेको धर्तीपुत्रको रूपमा प्रस्तुत गर्ने गरेका छन् । ‘अमनलाल मोदी यहाँको थारु, राजवंशी, मुस्लिम, मधेसी र खस(आर्य समुदायको आफ्नै छोरा हुन्,’ उनी भन्छन्, ‘विपक्षी उम्मेदवारहरू चुनाव जित्न मात्र यहाँ आउँछन्, तर मोदी यहाँका जनताको सुख–दुःखमा सधैँ साथ रहने पहरेदार हुन् ।’

तेस्रो, पहुँचयोग्य उम्मेदवारः खतिवडाले जनतालाई बुझाउँदै भन्छन्, ‘तपाईंलाई चाहिएको बेला फोन उठ्ने र घरदैलोमा आइपुग्ने नेता चाहिएको हो कि जितेपछि अनुहारै नदेखाउने मान्छे ? मोदी अस्पतालमा बिरामी हुँदा होस् वा मरे–मराउ पर्दा, सधैँ जनताको साथमा छन् ।’

चौथो, प्रलोभन विरुद्धको चेतावनी स् निर्वाचनको अन्तिम समयमा विपक्षीहरूले भोजभतेर, मासु–भात र पैसाको प्रलोभन देखाउन सक्ने भन्दै खतिवडाले मतदातालाई सचेत गराउने गरेका छन् । ‘केही छाक मासु–भात र केही रुपैयाँमा आफ्नो पाँच वर्षको भविष्य नबेच्नुस्, आफ्नो पहिचान र विकासका लागि ‘तारा’ चिन्हमा मतदान गर्नुस्,’ खतिवडाको यो अपिलले भुइँतहका मतदातामा ठुलो प्रभाव पारेको छ ।

दलसँग होइन, जनतासँग महागठबन्धन

निर्वाचन परिचालनका क्रममा विभिन्न जनसभाहरूलाई सम्बोधन गर्दै रुपेश खतिवडाले एउटा महत्त्वपूर्ण एङ्गल अगाडि सारेका छन् । उनी भन्छन्, ‘२०७४ मा मोदीजीले एमालेसँग गठबन्धन गरेर जित्नुभयो, २०७९ मा कांग्रेससँग गठबन्धन गरेर जित्नुभयो । ती दलहरूसँगका गठबन्धन थिए । तर यसपटक मोदीजीको महागठबन्धन सिधै जनतासँग छ । जनताको विश्वास र मायाको यो महागठबन्धन विगतको दलीय गठबन्धनभन्दा कैयौँ गुणा शक्तिशाली छ ।’

खतिवडाका अनुसार, दलीय गठबन्धनमा मत ट्रान्सफरको समस्या हुने गरे पनि जनतासँगको सिधा गठबन्धनमा त्यो समस्या रहँदैन । मोदीले मधेसी, थारु, मुस्लिम र उत्पीडित समुदायको पक्षमा र्पुयाएको योगदानका कारण यसपटकको जित झन् ऐतिहासिक हुने दाबी उनले गरे ।

मोदीको लोकप्रियता र विपक्षीको अवस्था

अमनलाल मोदी यस क्षेत्रका लागि परिक्षित अनुहार हुन् । दुई पटक सांसद र मन्त्री भइसकेका मोदीले विराटनगरको ढल निकास, क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र बाटोघाटो निर्माणमा महत्त्वपूर्ण बजेट विनियोजन गराएका छन् । जनताको बिरामी पर्दा अस्पताल पुग्नेदेखि मृत्यु संस्कारमा समेत सहभागी हुने मोदीको भुइँमान्छेको छवि नै उनको जितको मुख्य आधार भएको खतिवडा बताउँछन् ।

तुलनात्मक रूपमा विपक्षी उम्मेदवारहरूको अवस्था भने कमजोर देखिएको खतिवडाको दाबी छ । नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे महामन्त्री भए पनि स्थानीयस्तरमा जनताको दुःखमा नजोडिएको र विगतमा चुनाव हारेपछि क्षेत्र छाडेर हिँडेको आरोप लागेको छ । त्यस्तै, नेकपा एमालेका उम्मेदवार जीवन घिमिरे प्रदेशको मन्त्री र सांसद हुँदा पनि यस क्षेत्रको विकासमा खासै प्रभावकारी भूमिका खेल्न नसकेको जनगुनासो रहेको छ । ‘जनताले मन्त्री हुँदा पनि काम नगर्ने र चुनाव हारेपछि क्षेत्र नै छाड्ने उम्मेदवारलाई किन भोट हाल्ने ? भन्दै जनताले प्रश्न गर्ने गरेको मैले सुनेको छु ।’

१० हजारभन्दा बढीको मतान्तरले जित्ने प्रक्षेपण

निर्वाचन परिचालन समितिले गरेको प्रारम्भिक अध्ययन र जनताको रेसपोन्सका आधारमा मोदीले यसपटक १० हजारभन्दा बढी मतान्तरले चुनाव जित्ने दाबी उनी गर्दछन् । अघिल्ला चुनावहरूमा ३० हजारदेखि ३३ हजारको हाराहारीमा मत प्राप्त गरेका मोदीले यसपटक ३५ हजारभन्दा बढी मत ल्याउने उनको दावी छ ।

विगतमा एमाले र कांग्रेसका मतदाताहरूले पनि यसपटक मोदीलाई नै भोट हाल्ने प्रतिबद्धता जनाएको खतिवडाले बताए । ‘यस क्षेत्रको विकासको खाका मोदीसँग मात्र छ । विराटनगरको डुबान समस्या होस् वा ग्रामीण भेगको थारु बस्तीको विकास, मोदीको सक्रियता लोभलाग्दो छ,’ खतिवडाले थपे ।

सामाजिक सञ्जाल र नयाँ शक्तिको प्रभाव

पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको नयाँ दलको लहरले पनि मोदीलाई खासै असर नगर्ने खतिवडाको बुझाइ छ । उनी भन्छन्, ‘नयाँ दलहरूको लहर नीति र सिद्धान्तमा भन्दा पनि आक्रोशमा टिकेको छ । तर निर्वाचन क्षेत्र नम्बर ४ का सचेत मतदाताहरूले आक्रोशमा होइन, आफ्नो विकास र अधिकारको रक्षाका लागि मोदीलाई नै मतदान गर्नेछन् ।’

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अमनलाल मोदी र निर्वाचन कमाण्डर रुपेश खतिवडाको आक्रामक प्रचार शैलीले मोरङ क्षेत्र नम्बर ४ मा नयाँ तरङ्ग पैदा गरेको छ । मोदीको दुई पटकको सफल कार्यकाल, विकासप्रेमी छवि र खतिवडाको कुशल निर्वाचन व्यवस्थापनले यस क्षेत्रमा मोदीको जित सुनिश्चित जस्तै देखिएको छ । दलसँगको गठबन्धन तोडेर जनतासँग सिधा महागठबन्धन गरेका मोदीको यो यात्राले मोरङको राजनीतिमा नयाँ आयाम थप्ने दावी गरिरहेका छन् । आगामी निर्वाचनमा मोदीको ‘जनतासँगको महागठबन्धन’ ले कस्तो परिणाम ल्याउँछ, त्यो त हेर्न बाँकी नै छ, तर हालको जनलहरले भने मोदीको पक्षमा जनलहर छ भन्ने चाहिँ देखिएकै छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds