लोड हुँदैछ...

मेनु

बालेनको निर्वाचन क्षेत्र रहेको झापा ५ मा आचारसंहिता पालनामा जोड

बालेनको निर्वाचन क्षेत्र रहेको झापा ५ मा आचारसंहिता पालनामा जोड

झापा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुुनिश्चित गरिने बताइएको छ । शनिबार निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नंं. ५ दमकमा भएको सर्वपक्षीय छलफलमा निर्वाचन आचारसंहिता पालना नभएको गुनासो आएको बताउँदै यसलाई गम्भीर रूपमा लिएर आचारसंहिता पालना गर्ने र गराउने प्रमुख निर्वाचन अधिकृतसहित सरोकारवालाले प्रतिबद्धता पनि जनाएका छन् ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता एवं काठमाडौँ महानगरका निवर्तमान प्रमुख बालेन्द्र शाहले यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । दुवैलाई पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मी सङ्ग्रौलालगायतले पनि चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

झापाका प्रमुख निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले निर्वाचनको कार्यक्रम सार्वजनिक भएर निर्वाचन अधिकृतको कार्यालय बसेपछि तीन पटक राजनीतिक दलका प्रतिनिधिसँग तथा सर्वपक्षीय छलफल भइसकेको बताए । उनले भने, “आचारसंहिता पालना नभएको विषयमा गुनासा आएका छन् । आचारसंहिता पालना गर्न हाम्रो अनुरोध छ । पालना नभए अब कारबाही सुरु गर्छौं ।”

झापामा अन्य क्षेत्रमा कारबाही सुरु भइसकेको र आचारसंहिता पालना गराउन सचेत गराइएको लामिछानेले बताए । झापामा राजनीतिक दलले तडकभडकसहित घरदैलो अभियान गर्दै आएका छन् । ठाउँ ठाउँमा प्रचार सामग्री राख्ने कार्य पनि भएको भन्दै छलफलमा सहभागीले आपत्ति जनाएका थिए ।

यसै गरी झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आचारसंहिता पालना गर्न आग्रह गर्दै यो राजनीतिक दल र उम्मेदवारका लागि नै भएको बताए । उनले भने, “आचारसंहिता पालना गरेर भयरहित अवस्थामा निर्वाचन गराउन सबैको साथ र सहयोगको अपेक्षा छ ।”

उनले आचारसंहिता अनुगमन अधिकृतद्वारा आचारसंहिता पालना भए/नभएको विषयमा अनुगमन भइरहेको र त्यस आधारमा अगाडि बढ्ने उल्लेख गरे ।

नेकपा (एमाले) का नेता रोमनाथ ओली, संविधान सभा सदस्य दीपक कार्की, नेपाली कांग्रेसका प्रेम भट्टराई, नेकपाका तीर्थराज बस्नेत, राप्रपाका टङ्कप्रसाद पाठकलगायतले आचारसंहिता कसैलाई लाग्ने र कसैलाई नलाग्ने हुने जस्तो अवस्था देखिएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds