लोड हुँदैछ...

मेनु

मोरङ क्षेत्र नम्बर ३ : बदलिँदो राजनीतिक लहर

मोरङ क्षेत्र नम्बर ३ : बदलिँदो राजनीतिक लहर

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक जोडघटाउ सुरु भएको छ। यस क्षेत्रमा पर्ने कानेपोखरी, पथरी शनिश्चरे, बेलबारी र सुन्दरहरैँचाका केही वडाहरूको मतदाता विवरण र स्थानीय मतदाताको मनोविज्ञानले यस पटकको प्रतिस्पर्धा रोचक हुने संकेत गरेको छ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार मोरङ क्षेत्र नं. ३ मा समावेश भएको बेलबारी नगरपालिकाका ८ वटा वडाहरू समावेश छन्। जसमध्ये वडा नं. ४ मा सबैभन्दा बढी ७,३८१ मतदाता रहेका छन्।

वडा नं. १ः ५,४११
वडा नं. २ः ५,२९३
वडा नं. ३ः ५,४२९
वडा नं. ४ः ७,३८१
वडा नं. ८ः ६,७५६
वडा नं. ९ः ७,२९५
वडा नं. १०ः ५,२४२
वडा नं. ११ः ६,६२३

सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडाहरू पनि यस क्षेत्रमा पर्छन्, जहाँ वडा नं. १० मा सबैभन्दा धेरै ८,५३० मतदाता छन्।

वडा नं. १ः ६,१०९
वडा नं. ८ः ५,७३०
वडा नं. ९ः ७,६६४
वडा नं. १०ः ८,५३०
वडा नं. ११ः ७,२९२
वडा नं. १२ः ५,८१७

पथरी शनिश्चरे नगरपालिकाको ८ वटा वडाहरू यस क्षेत्रमा समेटिएका छन्।

वडा नं. १ः ८,०२५
वडा नं. २ः ५,७८९
वडा नं. ३ः ५,८९५
वडा नं. ४ः ६,२८९
वडा नं. ७ः ४,३७५
वडा नं. ८ः ४,७८५
वडा नं. ९ः ५,४१७
वडा नं. १०ः ५,३८८

यस्तै कानेपोखरी गाउँपालिकाको ४ वटा वडाहरू (४, ५, ६ र ७) यस क्षेत्रमा पर्छन्, जहाँ कुल २१,५२२ मतदाता रहेका छन्।

वि.सं. २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका सुनिल शर्मा ४८,६३१ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकालले २५,८९५ मत प्राप्त गरेका थिए।

यद्यपि, समानुपातिकतर्फको मत परिणामले यहाँको दलीय शक्ति सन्तुलन फरक देखाउँछ । समानुपातिकमा काँग्रेसले २९,८५९ मत ल्याएको थियो भने नेकपा एमालेले २५,०२८ मत ल्याएको थियो । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४,४०८ मत ल्याउँदा राप्रपाले ९,३७२ मत ल्याएको थियो । यस्तै तत्कालिन माओवादी केन्द्र र नेकपा एसले ८,६१६ मत ल्याएको थियो । ती पार्टीहरु अहिले एकता भएर नेकपा बनेको छ ।

यो तथ्याङ्कले के देखाउँछ भने प्रत्यक्षमा सुनिल शर्माले पाएको मत उनको व्यक्तिगत प्रभाव र तत्कालीन गठबन्धनको साझा मत थियो। अहिले नेकपाबाट डा. देउमान सम्बाहाम्फे चुनावी मैदानमा उत्रिएपछि शर्माका लागि आफ्नो पुरानो मत जोगाउन चुनौती देखिन्छ।

स्थलगत रिपोर्टिङका क्रममा मतदाताहरूमा चरम असन्तुष्टि र परिवर्तनको चाहना देखिएको छ। बेलबारी–११ का पूर्वशिक्षक योगेन्द्र बाँस्तोलाका अनुसार ५० प्रतिशत मतदाता नयाँ पार्टीहरूतर्फ आकर्षित भएका छन्।

विगतमा एमालेलाई मतदान गर्दै आएका बेलबारी–११ का ८० वर्षीय भोजराज ढकाल यस पटक एमालेलाई मत नहाल्ने मनस्थितिमा छन्। सोही ठाउँका ८२ वर्षीय भैरब घले पनि यसअघि एमाले भए तापनि यस पटक माहोल हेरेर मात्र निर्णय लिने बताउँछन्।

सुन्दरहरैँचा–१ का श्रीनारायण खवास र सिटी रिक्सा चालक तुलाराम संग्रौला विकास र काम गर्ने प्रतिनिधिलाई प्राथमिकता दिने बताउँछन्। खवास भन्छन्, ‘हामीलाई बाटो कालोपत्रे, पुल र अस्पतालको सुधार गर्ने नेता चाहिएको छ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds