विराटनगर । मोरङको रङ्गेली नगरपालिका १ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडालाई नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश विराटनगरले खेलकुद जर्सी उपलब्ध गराएको छ ।
परिसंघका अध्यक्ष पवनकुमार सारडाले आज ३० सेट जर्सी तथा खेलकुद शिक्षकलाई एक सेट ट्र्याक सुट हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा परिसंघ का अध्यक्ष पवनकुमार सारडा, कोषाध्यक्ष साकेत राठी, महानिर्देशक विजयहरि शर्मा पनि उपस्थित थिए । उनीहरुले संयुक्तरुपमा विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा माध्यमिक तह शिक्षक देवीप्रसाद ढुंगेललाई खेलकुद जर्सी प्रदान गरेका हुन् ।
आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गरी विद्यार्थीहरूलाई खेलकुद प्रति रुचि जगाउन तथा उत्साह प्रदान गर्न खेलकुद जर्सी प्रदान गरिएको परिसंघका अध्यक्ष पवनकुमार सारडाले बताए । आगामी दिनमा समेत विद्यार्थीको भविष्य उज्जवल बनाउन आवश्यक सहयोग गर्ने बताए ।
हाल सो विद्यालयमा ४५० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने अधिकांश विद्यार्थीहरू सिमान्तकृत आदिवासी जनजाति गरिब तथा असहाय विद्यार्थीहरू अध्ययनरत रहेको बताइएको छ । विद्यालयमा आर्थिक समस्या परेकाले खेलकुद जर्सी किन्न कठिन भएकाले खेलकुद जर्सी विद्यार्थीहरूका लागि ग्रहण गरिएको सहायक प्रधानाध्यापक टंकबहादुर खत्रीले बताए । सो अवसरमा विद्यालयको तर्फबाट नेपाल उद्योग परिसंघ कोशी प्रदेशलाई धन्यवाद ज्ञापनपत्र प्रदान गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।