काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा आइतबार जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । । जापान सरकारको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल यही आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट जापान प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी आगामी माघ २१ गते दिउँसो ४ः३० बजे नेपाल एयरलाइन्सकै उडान नं ४३४ बाट स्वदेश फर्कने छन् ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन् । । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता हुने तालिका रहेको छ ।
यसअघि, माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजित विशेष स्वागत समारोहमा राष्ट्रपति सहभागी हुनेछन् । भ्रमणकै क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने छन् ।
जापान बसाइका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।
भ्रमण टोलीमा राष्ट्रपतिका साथ उनकी धर्मपत्नी सबिता पौडेल र नेपाल सरकारका उच्चस्तरीय अधिकारीहरूको सहभागिता रहनेछ । यो भ्रमणले नेपाल र जापानबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।