विराटनगर । कोशी प्रदेशको पहाड र तराई जोड्ने कडीका रूपमा दशकौँदेखि कब्जा जमाएको सहर धरान यतिबेला एउटा गम्भीर र मौन छटपटीमा छ । कुनै समय पूर्वी पहाडी जिल्लाहरूका लागि मिड पोइन्ट अर्थात् एउटा अनिवार्य गन्तव्य रहेको धरान अब केवल इतिहासको एउटा पाटो बन्ने हो कि भन्ने चिन्ता स्थानीय बौद्धिक र व्यापारिक तप्कामा बढ्न थालेको छ ।
विगतमा मेची अञ्चलका पाँचथर र ताप्लेजुङ मात्र होइन, कोसीका धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ र उदयपुरका जनता तराई झर्नका लागि धरानकै बाटो रोज्थे । ठूलो व्यापारिक कारोबार, खाद्यान्नको भण्डारण र स्तरीय बजारका लागि धरान नै मुख्य केन्द्र थियो । जसले गर्दा यहाँको बजारमा सधैँजसो भीडभाड र आर्थिक चहलपहल हुन्थ्यो । तर, पछिल्लो समय बदलिँदो भूगोल र यातायातको सञ्जालले धरानको यो एकाधिकारलाई नराम्रोसँग धक्का दिएको छ ।
यही सन्दर्भमा सोही क्षेत्रका प्रदेश सांसद रमेश बस्नेत विश्लेषण निकै मार्मिक र यथार्थपरक सुनिन्छ । ‘अहिले उदयपुर, भोजपुर र खोटाङका मानिसहरू तराई झर्नका लागि धरान आउनै पर्दैन, उनीहरू कटारी, घुर्मी र गाईघाट जस्ता नयाँ विकसित बजारहरूमै रोकिन थालेका छन्,’ बस्नेतले भने, ‘अझ मध्यपहाडी लोकमार्गको विस्तारले त झन् ठूलो परिवर्तन ल्याइदिएको छ, जहाँबाट मानिसहरू सिधै राजधानी काठमाडौँतर्फ सोझिन थालेका छन् ।’
उनले भनेजस्तै मेची अञ्चलका पहाडी जिल्लाबासीहरु पनि इलाम हुँदै सिधै विर्तामोड र दमक झर्न थालेको धेरै भइसक्यो । यसले गर्दा धरान एउटा जीवन्त व्यापारिक केन्द्रबाट विस्तारै एउटा शान्त आवासीय सहरमा खुम्चिँदै गएको छ । त्यति मात्र होइन, धरानको आर्थिक मेरुदण्ड मानिने लाहुरे समुदायको ८० देखि ८५ प्रतिशत हिस्सा अहिले धरान छोडेर काठमाडौँ वा विदेशतिर पलायन भइसकेको छ । सम्पन्न वर्गको यो बहिर्गमनले धरानको व्यापारिक भविष्यमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ र धेरैलाई लाग्न थालेको छ कि यदि यस्तै अवस्था रहे धरान बजार नै बिलाउन सक्छ ।
धरानलाई यो सम्भावित पतनबाट जोगाउन र पुनः एउटा व्यापारिक हबका रूपमा जीवित बनाउन अब केवल खानेपानीको नाराले मात्र पुग्दैन भन्ने बहस सुरु भएको छ । यहीँनेर धनकुटाको मुलघाटदेखि धरानसम्मको सुरुङ मार्गको एजेण्डाले जन्म लिएको हो । धरानका नागरिकहरूको बुझाइमा अबको मूल एजेण्डा सुरुङ मार्ग नै हुनुपर्छ । जसले पहाडसँगको दूरी छोट्याएर धरानलाई पुनः व्यापारिक ट्रान्जिट बनाउन सकोस् । ‘अबको एजेण्डा खानेपानी मात्रै होइन, मुलघाट–धरान सुरुङ मार्ग पनि हो,’ अग्रज पत्रकार हर्ष सुब्बा भन्छन् । सांसद रमेश बस्नेत पनि अबको मूल एजेण्डा धरानका लागि सुरुङ मार्गै रहेको बताउँछन् । त्यसबाहेक धरानको एजेण्डा खानेपानीकै हो ।
हर्क साम्पाङले पानीको नारा दिएर नगर प्रमुखमा चुनाव जिते पनि अहिलेको निर्वाचनमा त्यही एजेण्डा लिइरहेका छन् । उनको अर्को एजेण्डा हो जनजातिको छोरो प्रधानमन्त्री बन्ने । तर, अन्य पार्टीहरुले पानीका साथै सुरुङ मार्गको कुरालाई पनि जोडतोडका साथ उठाइरहेका छन् ।


‘सप्तकोशीबाट पानी ल्याएर धरानलाई खुवाउने एजेण्डा अझै पुरा भएको छैन,’ प्रा.डा. टंक न्यौपानेले भने, ‘हर्क साम्पाङले पाइप तानेर ल्याएपछि केही वडालाई पुग्यो होला तर, समग्र धरानमा खानेपानी अभाव अहिलेदेखि नै सुरु भइसक्यो ।’ उनका अनुसार अहिले पनि दिन बिराएर मात्रै धारामा पानी आउने सेड्युल सुरु भइसक्यो ।
धरानले आफ्नो अस्तित्व जोगाउन नयाँ एजेण्डा खोजिरहँदा सुनसरी क्षेत्र नम्बर १ कै अर्को महत्वपूर्ण हिस्सा बराहक्षेत्र नगरपालिकाका जनताले भने आफूलाई सधैँ उपेक्षित र अपमानित महसुस गरिरहेका छन् । धरान केन्द्रित राजनीतिको चेपुवामा बराहक्षेत्र परेको गुनासो चतराका गल्लीहरूमा प्रष्ट सुनिन्छ ।
बराहक्षेत्र–२ चतराका ३२ वर्षीय लक्ष्मीराज घिमिरेको असन्तुष्टिले समग्र बराहक्षेत्रको पीडालाई प्रतिनिधित्व गर्छ । उनी भन्छन् कि सुनसरी १ मा धरान बाहेक पनि झण्डै ४० हजार मतदाता छन्, तर उम्मेदवार र दलहरूले सधैँ धरानको एजेण्डालाई मात्रै निर्वाचन क्षेत्रको एजेण्डा बनाउने गरेका छन् । नेताहरू धरानको पानीका लागि पाइप तान्ने कुरामा अल्झिरहँदा बराहक्षेत्रको विकास र यहाँका जनताको भावना सधैँ ओझेलमा परेको उनको ठम्याइ छ ।
लक्ष्मीराजका अनुसार बराहक्षेत्र जस्तो धार्मिक र पर्यटकीय महत्व बोकेको ठाउँलाई नेतृत्वले जहिले पनि दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरेको छ । क्षेत्रीय सन्तुलनको यो खाडल भौतिक पूर्वाधारमा पनि प्रष्ट देखिन्छ । ६४ वर्षीय गोविन्द बहादुर कार्कीको माग निकै पुरानो र सामान्य छ, तर त्यो अहिलेसम्म पुरा भएको छैन । उनी भन्छन् कि धरानबाट चतरा आउने बाटोको अवस्था वर्षौँदेखि दयनीय छ, जसका कारण चतराबासीले सधैँ कष्ट भोग्नुपरेको छ । उम्मेदवारहरू चुनावका बेला बाटो बनाउने बाचा गर्छन् तर जितेर गएपछि धरानको बजारभित्रै हराउँछन् ।
बराहक्षेत्रका अर्का मतदाता भद्रबहादुर कार्की जो रिक्सा चलाउँदै आएका छन्, उनी पनि अहिलेको नेतृत्वसँग निकै निराश छन् । बराहक्षेत्रको बाटो र यहाँका जनताको सम्मान आवश्यक भएको उनको भनाइ छ । बराहक्षेत्रका जनतालाई लाग्छ कि सुनसरी १ मा नेतृत्व गर्ने व्यक्तिले समग्र क्षेत्रको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।