नेपाली राजनीतिमा कुनै बेला बिरासत र नैतिकताको पर्याय मानिने कोइराला परिवारको विरासत अहिले डाक्टर शेखर कोइरालाको ढुलमुले चरित्रका कारण इतिहासकै कमजोर मोडमा आइपुगेको छ। विगत पाँच वर्षको उनको राजनीतिक पदचापलाई मिहिन ढंगले केलाउँदा उनी एउटा यस्तो नेताका रूपमा देखिए, जसले आफ्नै निर्णयको जालमा आफूलाई फसाए र अन्ततः आफ्नो राजनीतिक सान्दर्भिकता नै समाप्तिको दिशामा पुर्याए।
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा सिंगो देश र आफ्नै पार्टी सडकमा थियो । तर, आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने डाक्टर शेखर भने ओलीको असंवैधानिक कदमको भित्री समर्थक बनेर निस्किए । आफ्नै पार्टीले आधिकारिक निर्णय नगर्दै ‘ताजा जनादेश’ को नाममा ओलीको प्रतिगमनलाई मलजल गर्ने शेखरको त्यो अभिव्यक्ति उनको राजनीतिक जीवनकै पहिलो ठूलो वैचारिक स्खलन थियो । सर्वोच्च अदालतले दुई–दुई पटक संसद ब्युँताइदिएपछि मात्रै उनले महसुस गरे– उनी इतिहासको गलत कित्तामा उभिएका थिए ।
अदालतले संविधानको रक्षा गरेपछि उनी नैतिक रूपमा रक्षात्मक त बने, तर उनको यो अस्थिरता त्यतिमै रोकिएन। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु हुन्न भन्दै कार्यकर्तामा भ्रम छर्ने उनै शेखर, जब आफ्नो निर्वाचनको पालो आयो, तब तिनै दलको वैशाखी टेकेर संसद् छिर्न सफल भए। डाक्टर शेखरको अर्को परिचय भनेको दोहोरो मापदण्ड हो । २०७९ को स्थानीय निर्वाचनमा उनले गठबन्धनको विरुद्धमा विषवमन गरे, कार्यकर्तालाई उचाले । तर, जब मंसिरमा आफ्नो निर्वाचनको पालो आयो, उनै शेखर माओवादी र समाजवादीको दैलोमा पुगेर मत माग्न संकोच मानेनन् । मोरङ क्षेत्र नम्बर ६ का जनताले उनलाई जिताएर पठाए, तर संसदमा उनको उपस्थिति शून्य सरह रह्यो । आफ्ना मतदाताका समस्याभन्दा पार्टीभित्रको गुटबन्दी र बालुवाटारको शक्ति संघर्षमा बढी समय खर्चिने शेखरले संसद्लाई रबर स्ट्याम्प मात्र ठाने ।
राजनीतिक अनैतिकताको पराकाष्ठा त्यतिबेला देखियो जब उनले आफ्नै जोडबलमा बनेको काँग्रेस–एमाले सरकारलाई सय दिन पनि काट्न नपाउँदै ढाल्नुपर्छ भन्ने आशयले अभिव्यक्ति दिन थाले। संसदीय व्यवस्थामा ठूला दल मिलेर सरकार बनाउनु नै लोकतन्त्रका लागि घातक हो भन्ने जान्दाजान्दै त्यसको वकालत गर्ने र पछि आफैंले भने अनुसारको सरकार बन्दा त्यसलाई असफल बनाउन लाग्ने उनको बचकना व्यवहारले देशमा अराजकता र विद्रोहको बिउ रोप्यो। यसैको जगमा उठेको जेनजी विद्रोह र त्यसपछिको राजनीतिक अस्थिरताको भागिदारबाट डाक्टर शेखर उम्किन मिल्दैन। उनी न त सत्ता पक्षको जिम्मेवार नेता बन्न सके, न त प्रतिपक्षको रचनात्मक आलोचक नै।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि शेखरको भूमिका उत्तिकै निराशाजनक रह्यो। गगन थापा र विश्वप्रकाश शर्माहरूले विशेष महाधिवेशनमार्फत पार्टीमा नयाँ रक्तसञ्चार गर्न खोज्दा सुरुमा समर्थन गरेजस्तो गर्ने र अन्तिम समयमा शेरबहादुर देउवाको शरणमा पुग्ने उनको ढुलमुले प्रवृत्तिले उनलाई कतैको पनि राखेन। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले खोजेको परिवर्तनको पक्षमा उभिन नसक्नु उनको राजनीतिक कायरता थियो। यसले अन्ततः कोइराला परिवारको दशकौँ लामो बिरासतलाई गगन थापाको काँधमा पुर्याइदियो भने शेखरलाई अपमानित बहिर्गमनको संघारमा उभ्यायो।
अहिलेको विडम्बनापूर्ण दृश्य यो छ कि, हिजो जसलाई रोक्न शेखरले हरसम्भव षड्यन्त्र गरे, आज उनै गगन थापाको हस्ताक्षर भएको टिकट लिएर उनी चुनावी मैदानमा छन्। यो उनको राजनीतिक जीवनकै सबैभन्दा ठूलो लज्जा हो। विराटनगर र मोरङका सचेत मतदाताले उनको यो दोहोरो चरित्र, सत्ताको किचकिच र वैचारिक विचलनलाई नजिकबाट नियालिरहेका छन्। आफ्नै कार्यकर्ताको विश्वास गुमाइसकेका र विपक्षीको निशानामा परेका शेखरका लागि आगामी फागुन २१ को निर्वाचन एउटा कठिन परीक्षा मात्र होइन, बरु उनको राजनीतिक अवसानको औपचारिक घोषणा बन्ने देखिन्छ। जनताले अब बिरासतको भ्रममा भोट हाल्ने छैनन्, बरु शेखरको अस्थिरताको हिसाबकिताब चुक्ता गर्नेछन्, जसले उनको लज्जास्पद पराजयलाई निश्चित प्रायः बनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।