इलाम । इलामबाट संघीय संसदमा निर्वाचित भएर प्रधानमन्त्री भइसकेका नेता झलनाथ खनाल फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार छैनन् । हाल नेपाली कम्युनिष्ट पार्टीका नेता रहेका खनालले चुनाब नलड्ने घोषणा गर्दा उनले प्रतिस्पर्धा गर्दै आएको क्षेत्रबाट नेकपाले रणबहादुर राई (आरबी)लाई चुनाबी मैदानमा उतारेको छ ।
सूर्योदय नगरपालिकामा दोस्रो कार्यकालको लागि मेयरको रुपमा कार्यरत राईले मेयरबाट राजीनामा दिएर चुनाबी मैदानमा उत्रिएका छन् । सुर्योदल नगरपालिकाको सफल मेयरको रुपमा स्थापित भएका उनको छबिकै बलमा चुनाब जित्ने दावी नेकपाले गर्दै आएको छ । त्यसो त उनको पक्षमा क्षेत्रमै सकारात्मक माहौल पनि देखिएको छ ।
विगतमा एमालेको किल्ला मानिएको इलाममा त्यसको अगुवाई झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङले गर्ने गरेका थिए । नेम्बाङको निधनपछि उनका छोरा सुहाङ नेम्बाङ मैदानमा छन् । उनी एमालेबाट इलाम २ को उम्मेदवार छन् । खनाल भने एमालेबाट अलग भएर एकीकृत समाजवादी हुँदै नेकपामा सक्रिय छन् । २०७९ को निर्वाचनामा खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका थिए । तर, यो निर्वाचनमा बस्नेत पनि उम्मेदवार छैनन् ।
२०७९ को निर्वाचनमा एमालेका बस्नेतले २५ हजार ७ सय ५३ प्राप्त गरेर विजयी बन्दा खनालले २३ हजार ८९ मत ल्याएका थिए । सो क्षेत्रमा २०५६ बाहेक २०७९ अघिका सबै निर्वाचन खनालले जितेका थिए ।
खनाललाई हराएका बस्नेतलार्ई र्ईश्वर पोखरेल निकट रहेकोले एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएको चर्चा छ । एमालेबाट काजीमान कागते उम्मेदवार छन् । संयोग कागते २०७९ को स्थानीय तह निर्वाचनमा प्रदेश सांसदबाट राजीनामा दिएर सुर्योदय नगरपालिकाको मेयरको चुनाब लडेका थिए । उनलाई रणबहादुर राईले पराजीत गरे । अहिले दुबै जना फेरि संघीय सांसदको निर्वाचनमा भिड्दैछन् ।
स्थानीय सरकार सञ्चालनमार्फत ठोस काम गरेर जनविश्वास जितेका राई नेकपाबाट उम्मेदवार बनेपछि चुनावी समीकरण रोचक बनेको छ। विकास, सुशासन र पर्यटन प्रवर्द्धनलाई आफ्नो मुख्य पहिचान बनाएका राईलाई स्थानीयले ‘काम गरेर देखाएको नेता’को रूपमा लिने गरेका छन् ।
सूर्योदय नगरपालिकामा दुई कार्यकाल मेयर रहँदा राईले कन्याम, फिक्कल र आसपासका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरे। पर्यटनसँगै स्थानीय उत्पादनको बजारीकरण, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका कामका कारण उनी विकासवादी नेताका रूपमा परिचित छन्। यही कार्यशैलीका कारण नगरभित्र मात्र होइन, इलाम–१ का अन्य पालिकामा पनि उनको स्वीकार्यता बढ्दै गएको स्थानीयको भनाइ छ।
नेकपाको संगठन क्षेत्रमा धेरै बलियो नभएपनि व्यक्तिगत छवि र कामको मूल्यांकनका आधारमा कांग्रेस र एमाले दुवैको मत काट्ने क्षमता राईसँग रहेको स्थानीय विश्लेषण छ। कन्यामका व्यवसायी उमेश तामाङका अनुसार “पर्यटन क्षेत्रलाई मोडलका रूपमा विकास गर्न सक्ने नेता भएकाले रणबहादुर राई कांग्रेस–एमाले दुवैका लागि कडा चुनौती बनेका छन्।”
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका बेला देशभर पालिकाहरूमा क्षति हुँदा पनि सूर्योदय नगरपालिका सुरक्षित रह्यो । स्थानीय युवाको संयमता राईको कार्यशैलीकै कारण भएको मानिन्छ । “सुशासन, जवाफदेहिता र जनगुनासो समाधानमा इमानदार भएर काम गर्दा युवाले पनि साथ दिन्छन्। सूर्योदय सुशासनको सूचकमा ७५३ पालिकामध्ये दोस्रो हुनु त्यसैको परिणाम हो” राईले भने ।
कांग्रेसले क्षेत्रीय सभापति रहेका निष्कल राईलाई उम्मेदवार बनाएको छ । अन्य धेरै नेताहरु आकांक्षी भएपनि उनीहरुलाई पन्छाएर राईलार्ई टिकट दिएको कारण पुराना काँग्रेसका नेताहरु असन्तुष्ट छन् । एमालेमा महेश बस्नेतले टिकट नपाउँदा चरम असन्तुष्टि कार्यकर्ता तहमै छ । त्यसैलाई आफ्नो पक्षमा परिणाम ल्याउने आधार नेकपाका राईले मानेका छन् ।
स्थानीय मतदाताहरूका अनुसार यस पटक पार्टीभन्दा पनि व्यक्तिको काम, व्यवहार र दृष्टिकोण निर्णायक बन्ने संकेत छ।नजिकिँदै जाँदा उनको विकासवादी छवि र स्थानीयसँगको गहिरो सम्बन्धले चुनावी माहोललाई कसरी मोड्ने हो, सबैको चासो त्यतैतिर केन्द्रित भएको छ।
अन्य निर्वाचन क्षेत्रमा नयाँ दलको प्रभाव र उत्साह भएपनि इलाममा त्यसको खासै असर देखिएको छैन । एमाले, काँग्रेस र नेकपाबीचमै इलाम १ मा प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।
क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल गदाल, उज्यालो नेपाल पार्टीबाट हरिबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विनोद नेम्बाङ उम्मेदवार छन् । इलाममा रास्वपाभन्दा श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीको प्रभाव देखिएको छ ।
कांग्रेस उम्मेदवार निष्कल राई युवाहरूको साथका कारण जितनजिक रहेको दावी गर्छन् । शंकरदेव क्याम्पसमा अध्ययपन गराउँदा गराउँदै ग्रामीण अर्थतन्त्रको विकास र स्थानीय उत्पादनलाई बजारीकरणका लागि इलाम फर्केकोले मतदाताको विश्वास जित्ने उनको दावी छ । चिया किसानका समस्या पर्यटन क्षेत्रको समस्या, दूग्ध किसानका समस्या लगायतलाई नीतिगत रूपमा सम्बोधन गर्न मतदाताले आफूलाई चुन्ने उनले बताए ।
दिगो विकासका लक्ष्यबारे लामो समयदेखि काम गर्दै आएको बताउँने राई आफूलाई युवाहरूले साथ दिएको दावी गर्छन् । ‘मैले स्थानीय तहमा हुँदा जनगुनासो सम्बोधन गर्न घरदैलोसम्मै काम गरेको छु’, उनी भन्छन्, ‘सुशासनका क्षेत्रमा सूर्योदय ७५३ पालिकामध्ये दोस्रो भएको छ । जेनजीको आन्दोलनलाई समर्थन गर्दै सुशासन हुनुपर्ने पक्षमा म उभिएको छु। मतदाताले काम र उसको शैलीको मूल्यांकन गरेर मलार्ई मत दिन्छन् ।’ इलामको राजनीति चेतना राम्रो भएकाले विकास र समृद्धिमा भोट आउने उनको भनाइ छ ।
एमालेका कागते आफू नगरपालिकामा पराजित भएपनि मतदातासँगै भिजेर काम गरेकोले आफूलाईृ माया गर्ने दावी गर्छन् । ‘जनताका हरेक समस्यालाई जरासम्म पुगेर साथ दिँदै आएकाले जितमा शंका छैन,’ उनले भने, ‘एमालेको संगठन राम्रो हुनाले जित निश्चित छ ।’
‘एमालेको संगठन राम्रो छ। एमालेबाट उम्मेदवार रहेका सुहाङ र काजीमानजी स्थानीयस्तरमा भिजेरै काम गरेका नेता हुन् । तर आन्दोलनलाई लिएर एमाले र नेतृत्वमाथि प्रश्न उठेपछि उहाँहरूलाई मतदाताले घेरेका छन् ’, एमाले संगठित सदस्य तथा व्यवसायी रञ्जिता गौतमले भनिन्, ‘यो प्रश्नको जवाफ दिनु परिरहेका कारण एमालेका उम्मेदवारहरूलाई इलाममा निकै सकस देखिन्छ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।