विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय शक्ति सुदृढ गर्न र वैदेशिक षड्यन्त्रको सामना गर्न कम्युनिष्ट पार्टीहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन् । उनले विभिन्न कम्युनिष्ट पार्टी र समाजवादी घटकहरूबीचको एकता केवल सत्ताका लागि नभई राष्ट्रिय शक्ति निर्माणका लागि भएको स्पष्ट पारे ।
‘विभिन्न कम्युनिष्ट पार्टी र समाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने संकल्पका साथ पार्टी एकता गरिएको हो,’ दाहालले भने । उनले विभाजित कम्युनिष्ट शक्तिहरू एकजुट हुँदा मात्रै देशले स्थायित्व र समृद्धि प्राप्त गर्न सक्ने जिकिर गरे ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन असाधारण परिस्थितिमा हुन लागेको उल्लेख गर्दै उनले यस निर्वाचनलाई सामान्य रूपमा नलिन कार्यकर्ताहरूलाई आग्रह गरे । मुलुकको स्वाधिनता र संविधानको रक्षाका लागि पनि यो निर्वाचन महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
संयोजक दाहालले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन सबै मतदाता र शुभेच्छुकहरूसँग समर्थनको अपील समेत गरे । उनले जनताको आशा र भरोसालाई मर्न नदिने गरी पार्टीले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।