सोलुखुम्बु । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय सन्देश दिने बताएका छन्।
शनिबार नेकपाको सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा बोल्दै उनले सोलुखुम्बुमा कुन पार्टी र नेताले जित्छ भन्ने विषयलाई विश्वले चासोका साथ हेर्ने उल्लेख गरे।
प्रचण्डले सोलुखुम्बुका मतदातालाई नेकपाका उम्मेदवार असीम राईलाई तारा चुनाव चिह्नमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गरे। असीम राईलाई जिताएर पठाए सोलुखुम्बुको विकासका लागि आवश्यक काममा आफू प्रत्यक्ष रूपमा लाग्ने उनले बताए।
उनले सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। प्रचण्डले फागुन २१ मा हुने निर्वाचन सामान्य परिस्थितिको नभई मुलुकको वर्तमान अवस्थासँग जोडिएको असाधारण निर्वाचन भएको बताए। निर्वाचनमार्फत दुर्घटनाग्रस्त अवस्थामा पुगेको देशलाई जोगाउने प्रयासस्वरूप यो प्रक्रिया अघि बढेको उनको भनाइ थियो।
उनले प्रतिक्रियावादी शक्ति, वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्न नयाँ राष्ट्रिय शक्ति आवश्यक भएको उल्लेख गर्दै विभिन्न कम्युनिस्ट तथा समाजवादी घटक मिलाएर नेकपा निर्माणको प्रक्रिया अघि बढाइएको बताए। आफू ७२ वर्षको उमेरमा पनि राजनीतिक संघर्षमा सक्रिय रहेको उल्लेख गर्दै उनले युवा पुस्तालाई अझ जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरे।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।