लोड हुँदैछ...

मेनु

विवाहअघि यौन सम्बन्ध राख्ने जोडीलाई २८० कोर्रा

विवाहअघि यौन सम्बन्ध राख्ने जोडीलाई २८० कोर्रा

विराटनगर । इन्डोनेसियाको आचे प्रान्तमा विवाहअघि यौन सम्बन्ध राखेको र मदिरा सेवन गरेको अभियोगमा एक जोडीलाई सार्वजनिक रूपमा २८० पटक कोर्रा हानिएको छ।

इस्लामिक धार्मिक कानुन (शरिया) उल्लंघन गरेको ठहर गर्दै युवकलाई १४० र युवतीलाई १४० कोर्रा प्रहार गरिएको बीबीसीले जनाएको छ। अधिकारीहरूका अनुसार यो अहिलेसम्मकै सबैभन्दा कठोर सजाय हो।

कोर्रा प्रहारका क्रममा २१ वर्षीया युवती बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। घटना बिहीबारको हो।

आचे प्रान्तमा लागू इस्लामिक फौजदारी संहिताअनुसार विवाहबाहिर यौन सम्बन्ध राखे १०० पटक र मदिरा सेवन गरे ४० पटक कोर्रा हान्ने व्यवस्था छ। दुवै अभियोग लागेकाले उनीहरूलाई संयुक्त रूपमा २८० कोर्रा प्रहार गरिएको हो।

यस घटनालाई मानवअधिकार समूहहरूले क्रूर र अमानवीय भन्दै आलोचना गरेका छन्।

यसैबीच, शरिया कानुन उल्लंघनकै अभियोगमा इस्लामिक प्रहरी बलका एक अधिकारीलाई पनि कोर्रा हानिएको छ। निजी घरमा एक महिलासँग नजिक रहेको अवस्थामा पक्राउ परेका ती अधिकारीलाई २३ पटक कोर्रा प्रहार गरिएको आचे इस्लामिक प्रहरी प्रमुख मुहम्मद रिजालले जानकारी दिए। उनलाई सेवाबाट बर्खास्त गरिने बताइएको छ। ती महिलामाथि पनि समान संख्यामा कोडा प्रहार गरिएको छ।

मुस्लिम बहुल इन्डोनेसियामा शरिया कानुन कार्यान्वयन गर्ने आचे एक मात्र प्रान्त हो, जहाँ यस्ता अपराधमा सार्वजनिक रूपमा कोर्रा प्रहारको सजाय दिइन्छ। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।