लोड हुँदैछ...

मेनु

सुनसरी–१ : एक ठाउँमा आउन सक्छन् पुराना दलहरू

सुनसरी–१ :  एक ठाउँमा आउन सक्छन् पुराना दलहरू

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले सुनसरी क्षेत्र नम्बर १ लाई देशव्यापी चर्चाको केन्द्रमा ल्याएको छ । धरानका चर्चित स्वतन्त्र मेयर हर्कराज राई साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको उपस्थितिले यस क्षेत्रको चुनावी भिडन्तलाई निकै रोचक र बहुपक्षीय बनाएको छ ।

यसपटक सुनसरी–१ मा पुराना भर्सेस नयाँ मात्र नभई नयाँ भर्सेस नयाँ बीचको भिडन्त मुख्य आकर्षण बनेको छ । धरान उपमहानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी दर्ता गरी माटो चुनाव चिह्नसहित हर्क साम्पाङ मैदानमा छन् । उता, काठमाडौँका मेयर बालेन शाहले पनि राजीनामा दिएर दलीय राजनीतिमा होमिएको र रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको सन्दर्भले नयाँ शक्तिहरूको मनोबल उच्च देखिएको छ ।

रास्वपाबाट गोमा तामाङ (सरिन) उम्मेदवार छिन्, जसले २०७९ को निर्वाचनमा थोरै मतान्तरले मात्र पराजय भोगेकी थिइन् । अहिले मतदाताहरू घण्टी र माटो बीच विभाजित देखिन्छन्, जसले नयाँ मत बाँडिन सक्ने चिन्ता पनि थपेको छ ।

रक्षात्मक अवस्थामा पुराना दलहरू
वर्षौँदेखि यस क्षेत्रमा वर्चस्व कायम राख्दै आएका नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी हालको नेपाली कम्युनिष्ट पार्टी यसपटक रक्षात्मक अवस्थामा देखिएका छन् । एमालेले टिकाराम लिम्बु, कांग्रेसले सुजेन्द्र तामाङ र नेपाली कम्युनिष्ट पार्टीले सूर्यबहादुर भट्टराईलाई मैदानमा उतारेका छन् । यद्यपि, स्थानीय मतदातामा पुरानालाई स्वाद चखाउनेु मुड देखिएकाले यी दलका उम्मेदवारहरू असुरक्षित महसुस गरिरहेका छन् ।

नयाँ शक्तिहरूको लहरलाई रोक्न पुराना दलहरूबीच भित्री रूपमा अघोषित गठबन्धन हुनसक्ने आँकलन गर्न थालिएको छ । विश्लेषक प्राडा. टंक न्यौपानेका अनुसार, नयाँलाई हराउन पुराना दलहरू अन्तिममा एकातिर उभिने प्रबल सम्भावना छ । एमाले र कांग्रेसका केही कार्यकर्ताहरूले पनि हर्क साम्पाङको उदयलाई रोक्न साझा रणनीति बन्न सक्ने संकेत गरेका छन् ।

२०७९ को स्थानीय निर्वाचनमा हर्क साम्पाङले एक्लै २०,८२१ मत ल्याएका थिए । प्रतिनिधि सभा निर्वाचनमा अशोक राईले १७,०५९ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले १६,६०६ मत प्राप्त गरेकी थिइन् । समानुपातिकतर्फ एमाले पहिलो २०,०९८ र रास्वपा दोस्रो १७,२७१ स्थानमा थिए ।

स्थानीय मतदाताहरूमा उत्साहसँगै अन्योल पनि देखिएको छ । कतिपयले हर्क साम्पाङले कार्यकाल पूरा नगरी राजीनामा दिएकोमा असन्तुष्टि जनाएका छन् भने कतिपयले रास्वपा र साम्पाङ मिलेर जानुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds