लोड हुँदैछ...

मेनु

आगो लगाउन जस्तो सजिलो छैन देश बनाउन : थापा

आगो लगाउन जस्तो सजिलो छैन देश बनाउन : थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रयोजनका लागि मात्र केही पात्र एक ठाउँमा उभिएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

थापाले चुनाव जित्नका लागि विगतमा दायाँ–बायाँ फर्किएका पात्र एकै ठाउँमा जम्मा भएको आरोप लगाए। हिजो कांग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्तिहरू एउटै उद्देश्यका लागि जम्मा हुनु नयाँपन नभएको उनले बताए। नयाँ अनुहार हुँदैमा नयाँपन नहुने उनको भनाइ थियो।

थापाले नयाँ भनिएका दलहरूसँग स्पष्ट दृष्टिकोण र प्रतिबद्धता नभएको टिप्पणी गरे। नयाँ र पुरानोबीचको वास्तविक भिन्नता विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने उल्लेख गर्दै कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे।

थापाले देश बनाउन सुझबुझ, धैर्यता र जिम्मेवारीबोध आवश्यक पर्ने बताए। कांग्रेससँग मात्र देश सम्हाल्ने क्षमता रहेको उनको जिकिर थियो। आगो लगाउन सजिलो हुने भए पनि देश बनाउन चेतना, धैर्य र होसमा भएको शक्ति चाहिने उनले टिप्पणी गरे।

कार्यक्रममा थापाले भने, “यदि कसैले यसपटक म पुरानो पार्टीलाई भोट दिन्नँ, नयाँलाई दिन्छु भन्छ भने उसलाई सोध्नुस्—पुरानो र नयाँको परिभाषा के हो ? प्रत्येक कुरा सुरुमा नयाँ हुन्छ, समयक्रममा पुरानो बन्छ। नयाँ भनेको अनुहार नयाँ हुनु होइन।”

उनले माघ ६ गते अधिवेशन गरेर आफू सभापति बनेको कांग्रेस नै अहिले नेपालको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे। “फागुन २१ गते चुनावको मैदानमा जाँदै गर्दा कांग्रेसभन्दा नयाँ पार्टी कुन छ ?” उनले प्रश्न गरे।

थापाले रातारात एउटै उद्देश्यका लागि हिजोसम्म दायाँ–बायाँ फर्किएका व्यक्ति जम्मा हुनु नै नयाँपनको परिभाषा हुन नसक्ने बताए। चुनाव जित्नका लागि कांग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्ति भए पनि स्वीकार गर्ने प्रवृत्तिमाथि उनले प्रश्न उठाए।

“नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ? चुनाव जित्न त माओवादीले पनि जित्यो,” थापाले भने, “कमिटमेन्ट के हो ? दृष्टिकोण के हो ? यो प्रश्न घर–घर लैजानुपर्छ।”

कांग्रेस पुरानो नभई बदलिएको पार्टी भएको दाबी गर्दै थापाले कांग्रेससँग देश सम्हाल्ने शक्ति रहेको बताए। “आगो लगाउन सजिलो हुन्छ, भदौ २४ गते लाग्यो त एकै दिनमा सबै खरानी भयो,” उनले भने, “तर बनाउन सुझबुझ भएको शक्ति चाहिन्छ, होसमा भएको शक्ति चाहिन्छ, धैर्य र चेतना चाहिन्छ।”

कांग्रेससँग आँखामा सपना पनि छ, पेटमा भोक पनि छ र देश बनाउने आगो पनि छ, त्यही ऊर्जा र क्षमताका आधारमा कांग्रेसले मुलुकलाई अगाडि बढाउन सक्ने थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।