विराटनगर । धरानको खानेपानी अभावलाई मुख्य एजेण्डा बनाएर अभियान छेडेका हर्कराज साम्पाङ (राई)लाई जनताले २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित गरे । स्वतन्त्र उम्मेद्वारी दिएका उनले जितेका मात्रै थिएनन्, वर्षौंदेखि आफ्नो एकलौटी बिरासद कायम गरेको नेकपा एमाले र प्रतिस्पर्धामा रहेका परम्परागत दलहरुलाई अनपेक्षित झट्का पनि दिएका थिए ।
आफू नगरप्रमुख पदमा जितेपछि साम्पाङले धरानको सडकमा ढुङ्गा बोकेर र श्रम संस्कृतिको नारा दिएर देशभर चर्चा कमाए । उनले खानेपानीका पाइप ताने, ४० किलोमिटर टाढाबाट श्रमदान गरेरै धरानका केही वडालाई पानी उपलब्ध पनि गराए । त्यसले उनको चर्चा झनै चुलियो । तर, अहिले उनी नगरप्रमुखको पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । उनी आफू मात्रै होमिएका छैनन्, आफैं श्रम संस्कृति पार्टी खोलेर देशभरी आफ्ना समर्थकलाई खटाएका पनि छन् । अब प्रश्न उठ्छ हर्क साम्पाङले पार्टी खोलेर प्रधानमन्त्री बन्छु भन्दै नगरप्रम्ुखबाट राजीनामा दिएपछि धरानका जनता खुसी छन् कि दुःखी ? उनी प्रधानमन्त्री बन्ने दौडमा लाग्दा समर्थक खुसी छन् भने आलोचकहरु पालिकामा हुने सँधैको झैंझगडा अन्त्य भएकोमा पनि खुसी देखिएका छन् ।
तर, सामाजिक सञ्जालमा उनको लोकप्रियताको पारो जति तातो देखिन्छ, सुनसरी क्षेत्र नम्बर १ का गल्ली र चोकहरूमा भुइँ–मान्छेहरूको प्रतिक्रिया भने त्यति नै मिश्रित र कतिपय ठाउँमा आक्रोशपूर्ण सुनिन्छ । सुनसरी १ मा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर क्षेत्र तथा रामधुनी नगरपालिकाको ६ र ७ वडा समेटिएको छ । यहाँका मतदाता र विश्लेषकहरूसँग गरिएको कुराकानीले साम्पाङको सांसद बन्ने मोहलाई जनताले अधुरो जिम्मेवारी र उनको अहमताका रूपमा पनि लिन थालेको पाइएको छ ।
धरान १४ का स्थायी बासिन्दासमेत रहेका प्रा.डा. टंक न्यौपाने हर्क साम्पाङको जितको आधार खानेपानीको मुद्दा नै भएको बताउँछन् । ‘पहिलेका जनप्रतिनिधिले केही नगरेपछि जनताले विकल्प खोजेका थिए । साम्पाङले त्यही मुद्दालाई क्यास गरे र जिते । तर, मेयर भएपछि उहाँमा समन्वयको ठुलो अभाव देखियो,’ न्यौपानेले भने । न्यौपानेका अनुसार साम्पाङमा एउटा ठुलो कमजोरी अहमता पनि हो । ‘उहाँ काम त गर्नुहुन्छ तर बोल्न जान्नुहुन्न । म धरानको सबैभन्दा ठुलो मान्छे हुँ भन्ने अहम् उहाँमा पलायो,’ डा. न्यौपाने भने, ‘त्यसैले उहाँले कर्मचारी र अन्य जनप्रतिनिधिसँग समन्वय गर्न सक्नुभएन र अहिले मेयर पद नै अधुरो छोडेर अर्को बाटो रोज्नुभयो ।’
साम्पाङको कार्यकालको अर्को ठुलो विवादित पाटो भनेको वडाको अधिकार खोसेर पालिकामा केन्द्रित गर्नु हो । पहिले वडा कार्यालयबाटै सहजै हुने विजुलीको मिटर बक्स जडान र धारा जडानको सिफारिसका लागि पनि मेयरकै हस्ताक्षर कुर्नुपर्ने अवस्था सिर्जना भयो । डा. न्यौपाने यसलाई पनि गल्ती मान्छन् । ‘वडाले गर्दै आएका सिफारिसहरू सिधै नगरपालिकाले गर्नुपर्ने अवस्था उहाँले बनाउनुभयो । सामान्य कामको लागि पनि जनताले मेयरको मुड हेर्नुपर्ने स्थिति बन्यो । यसले सेवा प्रवाहलाई झन्झटिलो मात्र बनाएन, जनतामा सास्ती पनि थप्यो,’ न्यौपानेले भने ।
धरान–१४ की प्रतीक्षा पोखरेल पनि हर्क साम्पाङको कामबाट असन्तुष्ट नभएपनि बोली र व्यहवारबाट भने असन्तुष्टि बढेको बताउँछिन् । ‘काममा गएका सेवाग्राहीसँग उहाँको व्यवहार कहिल्यै राम्रो भएन, हप्कीदप्की मात्रै पाइयो,’ उनले भनिन् । साम्पाङले सार्वजनिक रूपमै मानिसहरूलाई थर्काउने, हप्काउने र सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने गरेको गुनासो धेरैको छ । प्रतीक्षा थप्छिन्, ‘यही कारणले आज धरानका धेरै मानिस उहाँको आलोचना गरिरहेका छन् । मेयरले त सबैलाई समेट्नुपर्ने हो, तर उहाँले विभाजन मात्र ल्याउनुभयो ।’
लाहुरेहरूको सहरका रूपमा चिनिने धरान पछिल्लो समय जातीय र धार्मिक संवेदनशीलताको चपेटामा पनि परेको थियो । धरान–१४ कै लक्ष्मीराज घिमिरे भन्छन्, ‘हर्क साम्पाङले जातीय विद्वेष फैलाउन खोजेको र सामाजिक सद्भाव बिगार्ने काम गर्नुभयो ।’ डा. न्यौपानेका अनुसार धरानमा चुनावको बेलामा जातीय गन्ध पहिलेदेखि नै भए पनि साम्पाङको कार्यकालमा यो झन् सतहमा आयो । धरानमा १३ हजारभन्दा बढी क्रिश्चियन मतदाता रहेको र हर्कको झुकाव त्यता देखिएको विश्लेषण गरिन्छ । गोपाल मन्दिर र चर्चको विवादले त धरानमा ठुलो द्वन्द्वकै स्थिति ल्याएको थियो । ‘जातीय र धार्मिक आस्थालाई हतियार बनाउँदा धरानको सामाजिक एकतामा असर पुगेको छ,’ न्यौपानेले भने ।
धेरै धराने जनता साम्पाङको हप्कीदप्कीबाट आजित भएका थिए । कतिपयले त उहाँले मेयरबाट राजीनामा दिएर सांसदमा उठ्ने निर्णय गर्दा दुःख भन्दा पनि उनको शासनबाट मुक्ति पाएको महसुस गर्दै खुसी व्यक्त गरेका छन् । धरान ८ का नरेन्द्र राई भन्छन्, ‘राजीनामा दिएर गएपछि बरु माथि नै झगडा गरुन्, यहाँ त शान्ति भयो भन्ने परेको छ ।’ बाहिरबाट हेर्दा जस्तो अवस्था हर्क साम्पाङको धरानमा नभएको उनको दाबी छ ।
धरानको राजनीतिको चर्चा गर्दा यहाँका पुराना र पाका मतदाताहरूको अनुभव निकै गहिरो देखिन्छ । धरानका स्थानीय खेम प्रसाद भण्डारीले आफ्नो ६ दशक लामो राजनीतिक यात्राको एउटा पाना पल्टाएका छन् । उनी कुनै बेलाकी चर्चित नेतृ शैलजा आचार्यसँगको आफ्नो बाल्यकालको सम्बन्ध सम्झिन्छन् ।
‘म १३ वर्षको हुँदा शैलजा आचार्य भोजपुर जानुभएको थियो । पिखुवा खोलामा उहाँ चढेको घोडाको लगाम तानेर हिँडेको मान्छे हुँ म । त्यतिबेला गाडी थिएन, घोडा नै थियो,’ उनले भने, ‘म सुत्दा र मर्दा पनि त्यही चारतारे (काँग्रेसको) झण्डा ओढेर मर्न पाऊँ भन्ने मेरो आस्था छ । तर, यस पटक भोट नयाँलाई दिन्छु ।’
खेम प्रसाद जस्ता पुराना पुस्ताका मतदाताहरू अहिले धरानको अवस्था देखेर चिन्तित छन् । हर्क साम्पाङको कार्यशैलीप्रति उनको कडा टिप्पणी छ । उनी भन्छन्, ‘मेयर भनेको त क्षेत्रको अभिभावक हो । हामीले सिधै गएर भेट्न पाउनुपर्ने हो । तर उहाँलाई भेट्न पर्यो भने जङ्गलमा आइज भन्नुहुन्छ । यस्तो ठाडो बोली र व्यवहारले धरानको विकास कसरी हुन्छ ? ।’
भण्डारीको विचारमा धरानलाई अब शरीरमा हिलो छ्यापेर ढुङ्गा बोक्ने मात्र होइन, बौद्धिक र शालीन नेतृत्वको आवश्यकता छ । ‘हामीलाई धरानकै मान्छे, राम्रो र सुझबुझ भएको प्रतिनिधि चाहिन्छ,’ उनी भन्छन्, ‘पहिलेका नेताहरूको एउटा ओज हुन्थ्यो, मर्यादा हुन्थ्यो । अहिले त मेयरले जात र धर्मको कुरा गरेर मान्छेलाई दुःख दिएको देख्दा चित्त दुख्छ ।’ धरान १४ कै ७५ वर्षीया अम्बिका घिमिरे भन्छिन्, ‘हार्नेलाई भोट दिइँदैन । काम गर्नेलाई नै जिताउने हो, तर जो आए पनि जनताको सेवामा लाग्नुपर्यो ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।