लोड हुँदैछ...

मेनु

कोशीका दर्जनौं नेता चुनावी दौडबाट बाहिर

कोशीका दर्जनौं नेता चुनावी दौडबाट बाहिर

विराटनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहँदा यस पटक कोशी प्रदेशबाट दर्जनौं नेताहरु चुनावी दौडबाटै बाहिरिएका छन् ।

नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीलगायतका प्रमुख दलका प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र पूर्वसभामुखहरूसमेत यस पटकको उम्मेदवार सूचीमा छैनन् ।

सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई यस पटक चुनावी मैदानमा छैनन् । उनीसँगै एमालेका अर्का प्रभावशाली नेता तथा पूर्वमन्त्री टंक आङ्बुहाङ पनि उम्मेदवार बनेनन् । नेपाली कांग्रेसबाट पनि पूर्वमन्त्री प्रताप प्रकाश हाङ्गामको नाम यस पटक उम्मेदवारको सूचीमा छैन ।
छिमेकी जिल्ला पाँचथरमा पनि उस्तै अवस्था छ । एमालेका प्रभावशाली नेता तथा पूर्व भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र नेपाली कांग्रेसका केन्द्रीय सह(महामन्त्री एवं संविधानसभा सदस्य भीष्मराज आङ्देम्बे यस पटक चुनावी प्रतिस्पर्धाबाट बाहिर रहेका छन् । यी नेताहरू जिल्लाको राजनीतिमा मात्र नभई केन्द्रमा पनि बलियो पकड राख्ने गर्दथे ।

इलामबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस पटक चुनावी मैदानमा छैनन् । त्यस्तै, कांग्रेसका पुराना नेता बेनुपराज प्रसाई र डम्बरबहादुर खड्का पनि उम्मेदवार बनेनन् । एमालेका पूर्व सांसद महेश बस्नेत र प्रलोपामा प्रवेश गरेका पूर्व प्रदेश सांसद धिरेन्द्र शर्मा पनि यस पटकको दौडमा छैनन् ।

झापामा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, इन्द्र बुढाथोकी र डा. खगेन्द्र अधिकारी पनि उम्मेदवार छैनन् । एमालेका पूर्वमन्त्री अग्नि खरेल, पूर्व सांसदहरु दिपक कार्की र रविन कोइराला पनि यस पटक मैदानमा छैनन् । नेकपाबाट संविधानसभा सदस्य पूर्णसिंह राजवंशी र पूर्वमन्त्री झलकसिं दर्लामी पनि चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।

संखुवासभामा एमालेका पूर्व सांसद राजेन्द्र गौतम, पूर्वमन्त्री तुलसी न्यौपाने र पर्शुमेघी गुरुङ यस पटक उम्मेदवार छैनन् । कांग्रेसबाट संविधानसभा सदस्य तारामान गुरुङ पनि मैदान बाहिर छन् । तेह्रथुममा कांग्रेसकी पूर्वमन्त्री सीता गुरुङ र एमालेका पूर्वमन्त्री भवानी खापुङ तथा संविधानसभा सदस्य विजय सुब्बा यस पटक चुनावी प्रतिस्पर्धामा देखिने छैनन् ।

धनकुटामा कुनै बेलाका प्रभावशाली माओवादी नेता र हालका स्वतन्त्र संविधानसभा सदस्य हेमराज भण्डारी यस पटक उम्मेदवार बनेका छैनन् । भोजपुरमा नेकपा संयुक्तका पूर्व सांसद घनेन्द्र बस्नेत र एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री कृपाशुर शेर्पा पनि चुनावी मैदानमा छैनन् । कांग्रेसबाट उमेशजङ्ग रायमाझीको नाम पनि उम्मेदवार सूचीमा अटाएन ।

कोशी प्रदेशको राजनीतिक राजधानी मानिने मोरङमा यस पटक सबैभन्दा धेरै ठूला नेताहरू बाहिरिएका छन् । एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित, ऋषिकेश पोखरेल, भुराज राई र सत्यनारायण चौधरी उम्मेदवार छैनन् । कांग्रेसबाट पूर्वउपप्रधानमन्त्री सुजता कोइराला, पूर्व अर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री दिलिप गच्छदार र बसन्त भट्टराई जस्ता नेताहरू मैदान बाहिर छन् । नेकपाबाट सावित्री काफ्ले, चन्द्र गुरुङ, नगेन्द्र धिमाल र पूर्वमन्त्री विजय विश्वास पनि यस पटक चुनावी मैदानमा देखिने छैनन् ।

सुनसरीमा पनि एमालेका पूर्वमन्त्री भीम आचार्य, कोशी प्रदेशका पूर्वसभामुख प्रदिपकुमार भण्डारी, नेतृ मञ्जु भण्डारी र सर्वध्वज सावा उम्मेदवार बनेनन् । कांग्रेसका सिताराम मेहता र मीन विश्वकर्मा पनि मैदान बाहिर छन् । नेकपाबाट पूर्व उपसभामुख सरस्वती पोखरेल र संविधानसभा सदस्य सन्तोष थारु लगायतका आधा दर्जन नेताहरू यस पटक चुनावी प्रतिस्पर्धामा छैनन् ।

सोलुखुम्बुमा कांग्रेसका पुराना नेता बलबहादुर केसी, एमालेका मानवीर राई र नेकपाका पूर्वमन्त्री गोपाल किराँती तथा हेमराज राई यस पटक उम्मेदवार छैनन् । ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार, कांग्रेसका रामहरि खतिवडा र नेकपाका मोहनकुमार खड्का बाहिरिएका छन् ।

खोटाङमा कांग्रेसका शिवकुमार बस्नेत, एमालेका विशाल भट्टराई र नेकपाका पूर्वमन्त्री रामकुमार राईसहित धेरै पूर्व सांसदहरू यस पटक उम्मेदवार बनेनन् । उदयपुरमा कांग्रेसका पूर्वमन्त्री डा। नारायण खड्का र नेकपाका जगन्नाथ खतिवडा जस्ता प्रभावशाली नेताहरू पनि चुनावी मैदान भन्दा बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds