काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १८ गते राति नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भ्रमणको सबैभन्दा महत्त्वपूर्ण दिन माघ २० गते रहनेछ। सो दिन राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले पनि भेटवार्ता गर्ने परराष्ट्र सचिव राईले जानकारी दिए।
त्यसअघि माघ १९ गते राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्। भ्रमणकै क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग विशेष बैठकमा सहभागिता जनाउनेछन्। साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति पौडेलको भ्रमण टोलीमा उनकी धर्मपत्नी सविता पौडेलका साथै परराष्ट्र मन्त्रालयका उच्च सरकारी अधिकारीहरू सहभागी रहनेछन्। नेपाल र जापानबीचको लामो र सुमधुर सम्बन्धलाई थप सुदृढ बनाउन यो भ्रमण महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।