लोड हुँदैछ...

मेनु

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ :  प्रचण्ड

काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्ति बन्न सक्ने दाबी गरेका छन् ।

शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा राजधानीमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना रहेको उनको भनाइ छ ।

देश निर्वाचनको माहोलमा होमिसकेको उल्लेख गर्दै प्रचण्डले केही शक्तिहरूले अझै पनि निर्वाचन बिथोल्न खोजेको आरोप लगाए । ‘देश निर्वाचनतर्फ अगाडि बढिसकेको छ, तर एकथरी मानिसहरू अनेक बहानामा निर्वाचन हुँदैन भन्ने भ्रम छरिरहेका छन् भने अर्को थरीले निर्वाचनलाई नै कब्जा गर्न खोजिरहेका छन्,’उनले भने ।

निर्वाचनको परिणामबारे विश्लेषण गर्दै प्रचण्डले प्रत्यक्षतर्फ आफ्नो पार्टीको पकड बलियो रहेको दाबी गरे । ‘प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत गर्‍यौँ भने नेकपा एक नम्बर पार्टी बन्ने निश्चित छ’ उनले भने ।

संयोजक प्रचण्डले नेकपा पहिलो पार्टी बनेमा आगामी ५ वर्षमा देशलाई समृद्धिको सपनातिर डोर्‍याउन सकिने समेत उल्लेख गरे । उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी मैदानमा खटिन र जनताको विश्वास जित्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds