खोटाङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गएको छ । चुनाब नजिक आउँदा खोटाङको राजनीतिक बहसको केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार डा. हरि रोका छन् ।
लामो समयदेखि दोहोरिँदै आएको पुराना अनुहारहरूको प्रतिस्पर्धा खोटाङमा यसपटक टुटेको छ । पाँचपटक चुनाव लडेका नेकपा एमालेका विशाल भट्टराई र अघिल्ला निर्वाचनमा जित–हारका मुख्य पात्र बनेका नेपाली कांग्रेस तथा माओवादीका नेताहरू मैदान बाहिरिँदा खोटाङले अनिवार्य रूपमा नयाँ सांसद पाउने निश्चित भएको छ।
करिब २६ वर्षपछि चुनावी राजनीतिमा फर्किएका डा.रोकाको उम्मेदवारीलाई सामान्य प्रतिस्पर्धाको रूपमा मात्र होइन, जिल्लाको राजनीतिक धार बदल्ने सम्भावनाका रूपमा हेरिएको छ । उनी नेकपाको नियमित क्रियाशील सदस्य नभएपनि पार्टीले अर्थशास्त्री, राजनीतिक विश्लेषक र बौद्धिक व्यक्तित्वका रूपमा परिचित रोकालाई अघि सारेको हो।
२०५६ सालमा मालेबाट तारा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका रोका पार्टी राजनीतिमा भने सक्रिय थिएनन् । बौद्धिक छवि र आर्थिक विज्ञता उनको पहिचान थियो । नेकपाले उनैलाई चुनाबी मैदानमा अगाडि बढाएको छ । एमालेले जिल्ला अध्यक्ष देवविक्रम राई र कांग्रेसले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई मैदानमा खडा गरेको छ ।
पार्टीभन्दा माथि उठेर सोच्ने, सबै धारसँग संवाद गर्न सक्ने र नीति निर्माणमा गहिरो समझ भएका उम्मेदवारका रूपमा रोकाको छवि छ।खोटाङमा यसपटक मुख्य प्रतिस्पर्धा एमालेका जिल्ला अध्यक्ष देवविक्रम राई, कांग्रेसका पूर्वजिल्ला सचिव वीरकाजी राई र नेकपाका डा. रोकाबीच हुने अनुमान गरिएको छ ।
अन्य दुई उम्मेदवार दलको सांगठनिक मतमा निर्भर देखिँदा रोकाको उम्मेदवारी संगठनबाहिरको तटस्थ र असन्तुष्ट मत तान्न सक्ने क्षमताका कारण फरक स्थानमा छ । यही कारण उनलाई ‘बलियो तेस्रो’ होइन, निर्णायक उम्मेदवारका रूपमा हेरिन थालिएको छ।
डा.रोका २०६४ सालमा मनोनीत संविधानसभा सदस्य भइसकेका अनुभवी नेता हुन् । त्यसपछि सक्रिय राजनीतिबाट टाढिँदै खोटाङमै बसेर कृषि र अध्ययनमा लागेका उनी राष्ट्रिय अर्थतन्त्र, नीति र योजनाका विषयमा निरन्तर धारणा राख्दै आएका छन्। खोटाङलाई केवल बजेट माग्ने जिल्ला होइन, नीति निर्माणसँग प्रत्यक्ष जोडिने जिल्लाका रूपमा विकास गर्नुपर्ने उनको दृष्टिकोणले जिल्लाको बौद्धिक जमात र युवापुस्तालाई आकर्षित गरेको देखिन्छ।
२०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार रामकुमार रार्ई खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यसबोहक स्थानीय तहको निर्वाचनमा पनि तीन वटा स्थानीय तह नेकपा (तत्कालीन) माओवादी केन्द्रले तिजेको छ । यो नेकपाका लागि सकारात्मक आधार हो । २०७९ सालको समानुपातिक मतमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएपनि माओवादी र एकीकृत समाजवादीसहित मिलेर बनेको नेकपाको आधारभूत मतसँगै अन्य दलबाट आउने असन्तुष्ट मत जोडिन सक्ने आँकलन गरिएको छ।
पहिचानको राजनीति, जेन्जी आन्दोलनको समयमा सरकारमा रहेका एमाले र काँग्रेसप्रतिको मतदाताको आक्रोश र जेन–जी पुस्तामा बढ्दो परिवर्तनको चाहनाले पनि रोकालाई फाइदा पुग्ने अनुमान छ। डा.रोकाले खोटाङको विकासलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीसँग जोडिएको एकीकृत मोडलबाट अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन् । ‘खोटाङ अब आधारभूत सुविधाका लागि मात्रै संघर्ष गरिरहने जिल्ला हुनु हुँदैन,’ भन्ने उनको भनाइले मतदातामाझ फरक सन्देश दिएको छ।
रोका निर्वाचित भए र नेकपा सरकारमा सहभागी भयो भने अर्थमन्त्रीको भूमिकामा रोकालाई अगाडि सार्ने चर्चा पनि राजनीतिक वृत्तमा छ । जसले विकासमा धेरै पछाडि परेको खोटाङलाई प्रत्यक्ष रूपमा राष्ट्रिय नीति निर्माणसँग जोड्ने विश्वास गरिएको छ।
जिल्लामा १ लाख ४७ हजारभन्दा बढी मतदाता छन् । चुनावी बहस र विश्लेषण हेर्दा प्रतिस्पर्धा त्रिपक्षीय देखिएको छ । परिणामलाई राष्ट्रिय स्वतन्त्र पार्टी र हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवारले प्राप्त गर्ने मतले उलटफेर पनि गर्नसक्छ । श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई र रास्वपाबाट रुद्र गिरी चुनाबी मैदानमा छन् ।
खोटाङमा २०५६ सालमा विशाल भट्टराईले एमालेबाट पहिलो पटक चुनाव लडेका थिए । त्यो चुनाबमा क्षेत्र नं १ मा सर्वधन राई र २ मा शिवकुमार बस्नेत विजयी भएका थिए । २०६४ सालमा माओवादीका रामकुमार राई र समिता कार्की विजयी भए । २०७० मा एमालेका विशाल भट्टराई र पाँचकर्ण राईले जितेका थिए । एउटा मात्र निर्वाचन क्षेत्र भएपछि २०७४ मा माओवादीसमेतको समर्थनमा एमालेका भट्टराईले नै चुनाब जिते ।
कांग्रेसले भने खोटाङबाट २०५६ सालयता संघीय संसदको ढोका खोल्न सकेको छैन। गएको निर्वाचनमा माओवादीसँग मिलेर कांग्रेसका भूपेन्द्र राई प्रदेश सांसद बनेका थिए ।
खोटाङमा पछिल्ला चुनावमा सबैभन्दा बढी मत एमालेकै छ । तर, केन्द्रीय सदस्य विशाल भट्टराई ५ पटक चुनाव लड्दा तीन पटक पराजित भएको तथ्यांक छ । उनले एमालेको माहोल राम्रो रहेकोले चुनाब जित्ने दावी गरे ।
काँग्रेसमा भने लामो समयदेखि आन्तरिक किचलो छ । पार्टीमा यत्रो उथलपुथल हुँदा पनि खोटाङ कांग्रेसमा अघिल्लो चुनावकै झगडा मिलिसकेको छैन। जिल्ला सभापति विष्णुकुमार राईको कारबाही फुकुवा गर्ने निर्णय यही झगडाको बीचमा भएको छ। कारबाही फुकुवाको निर्णय भए पनि वीरकाजी राईको मनोनयन दर्तामा उनी जिल्ला पुगेनन्।
यद्यपीी उम्मेदवार छनोट शीर्ष तहलाई छाडेर वीरकाजीलाई खडा गरेकोलले सबैको सहानुभूति उनीमाथि रहेको काँग्रेस प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सांसद भुपेन्द्र राईको दावी छ । अन्य नेताहरुले टिकट पाएको भए अन्तरघातको संभावना हुनेमा वीरकाजीको हकमा त्यो नहुने उनको भनाइ छ ।
नेकपाले यसपालि आफ्ना उम्मेदवारलाई संगठनबाहिरको धेरै मत आउने विश्वास गरेको छ। पार्टीको क्रियाशील सदस्यसमेत नरहेका विज्ञ व्यक्तित्व डा.रोकालाई मैदानमा उतारेकोले चुनाबी परिणाम आफ्नो पक्षमा आउने पार्टी केन्द्रीय सदस्य दुर्गाजयन्त्री राईको दावी छ । ‘डा.हरि रोका जस्तो विज्ञ, सक्षम व्यक्तित्व खोटाङको परिस्थितिलाई चिन्ने, राष्ट्रिय परिस्थितिलाई बुझ्न सक्ने हामीले अगाडि बढाउँदा एकखालको पार्टी बाहिरका तटस्थ मतदाताले पनि भोट दिनुहुन्छ’ उनको भनाइ छ, ‘यो हाम्रो प्लस प्वइन्ट हो ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।