लोड हुँदैछ...

मेनु

फेरि कसैले सहिद बन्नु नपरोस् : बालेन शाह

फेरि कसैले सहिद बन्नु नपरोस् : बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सहिदहरूको सपना पूरा गर्ने बाटोमा आफूहरू दृढताका साथ अघि बढेको बताएका छन् । सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता शाहले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने उल्लेख गरे ।

शाहले विगत ८५ वर्षमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् ।‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको ‘जेनजी’आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो,’ उनले भनेका छन् ।

राणा शासनको अन्त्यका लागि संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको बलिदानीको चर्चा गर्दै उनले त्यसपछिका दशकौँसम्म पनि जनताले अधिकारका लागि संघर्ष गरिरहनुपरेको यथार्थ स्मरण गरे । शाहले भने, ‘पटक–पटक नेपाली जनता सहिद भए तर सहिदका सपना पूरा हुन सकेनन् । अब ती सपना पूरा गर्ने दायित्व हाम्रो काँधमा छ ।

राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ । सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई नरहेको भन्दै शाहले लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्नेमा जोड दिए ।

‘अब समय आएको छ– सहिदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने र सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने,’ शाहले अगाडि भनेका छन्, ‘यसपटकको सहिद दिवसमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने प्रण गरौँ । फेरि कसैले सहिद बन्नु नपरोस् ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds