विराटनगर । नेपाली कांग्रेसका महामन्त्री एवं मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गुरुराज घिमिरेले आगामी निर्वाचनपछि नेपाली कांग्रेसले मुलुकमा एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन्। पार्टीको १४ औँ महाधिवेशनबाट आएको नेतृत्व विशेष महाधिबेशनबाट परिवर्तन र नयाँ कार्यशैलीका कारण देशभर कांग्रेसको पक्षमा ‘सुनामी’ आएको उल्लेख गर्दै उनले यसपटक कांग्रेस पहिलो पार्टी मात्र नभई देश चलाउने स्पष्ट बहुमतसहितको शक्ति बन्ने जिकिर गरे।
महामन्त्री घिमिरेले कांग्रेसको चुनावी गणितबारे सविस्तार व्याख्या गरेका छन्। उनका अनुसार कांग्रेसले यसपटक प्रत्यक्षतर्फ १०० सीटको हाराहारीमा जित निकाल्ने र समानुपातिकतर्फ ४० देखि ४२ सीट प्राप्त गर्ने प्रक्षेपण गरिएको छ। यो अंक गणितले कांग्रेसलाई सहजै बहुमतको सरकार बनाउने ठाउँमा पुर्याउने उनको भनाइ छ। नेतृत्व परिवर्तनले पार्टीभित्र मात्र नभई तटस्थ र लोकतन्त्रप्रेमी शुभेच्छुकहरूमा समेत ठूलो आशा र भरोसा जगाएको उनले बताए।
विशेष गरी पार्टी सभापति गगन थापाको मधेश यात्रा र त्यहाँका जनतासँगको सिधा संवादले तराईमा अभूतपूर्व लहर ल्याएको घिमिरेले उल्लेख गरे। मधेशमा केही समय देखिएको अन्योल चिर्दै अहिले कांग्रेस निकै मजबुत भएको र यसपटक कांग्रेसलाई बहुमत दिलाउन मधेशले नै निर्णायक भूमिका खेल्ने उनले दाबी गरे। नयाँ दलहरूप्रति देखिएको आकर्षणलाई क्षणिक भन्दै उनले पुराना पार्टीहरू सुध्रिएर नयाँ जोशका साथ जनतामाझ आएकाले नयाँको सान्दर्भिकता सकिँदै गएको टिप्पणी गरे।
आफ्नो निर्वाचन क्षेत्र मोरङ–४ को समृद्धिका लागि पनि ठोस योजना रहेको सुनाउँदै घिमिरेले आफू निर्वाचित भएपछि कटहरी र ग्रामथान क्षेत्रलाई ‘मिनी सौराहा’ का रूपमा विकास गर्ने र स्वदेशमै मल कारखाना स्थापना गर्न पहल गर्ने बताए। भौतिक पूर्वाधार मात्र नभई उद्यमशीलता र रोजगारी सिर्जनालाई आफूले मुख्य प्राथमिकतामा राखेको उनले स्पष्ट पारे। परराष्ट्र नीतिका सम्बन्धमा उनले भारत र चीन दुवै छिमेकीसँग राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित सम्बन्ध कायम गर्ने कांग्रेसको आधिकारिक धारणा रहेको बताए। चुनाव जित्नका लागि अहिले कार्यकर्ताको परिचालन र जनताको विश्वास दुवै कांग्रेससँग रहेकाले जित सुनिश्चित रहेको उनको निष्कर्ष छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।