काठमाडौँ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो चुनावी घोषणा पत्र निर्माणको कामलाई तीव्र बनाएको छ । पार्टीले घोषणा पत्रलाई उत्कृष्ट र समयसापेक्ष बनाउन पार्टीका विभिन्न तहका सङ्गठन र जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको छ ।
एमालेका प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार हालसम्म धेरैजसो क्षेत्रबाट प्राप्त भएका सुझावहरूलाई समेटेर घोषणा पत्र लेखनको कार्य भइरहेको छ । ‘हामीले धेरैजसो जनवर्गीय सङ्गठन र अन्य क्षेत्रबाट दुई–तीन पटकसम्म सुझाव सङ्कलन गरिसकेका छौँ,’ शाहीले भने, ‘अहिले ती सुझावहरूलाई समेटेर मस्यौदा लेखन भइरहेको छ र केही छुटेका क्षेत्रबाट सुझाव आएपछि घोषणा पत्रको अन्तिम मस्यौदा तयार गरिनेछ ।’
निर्वाचन घोषणा पत्रलाई पूर्णता दिन एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । उक्त कमिटीमा पार्टीका प्रभावशाली नेताहरू सदस्यका रूपमा रहेका छन् ।
मस्यौदा कमिटीका सदस्यहरूमा उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।