धनकुटा । नेकपा एमालेका नेता तथा धनकुटाका उम्मेदवार राजेन्द्र राईले यसपटकको निर्वाचनमा राजनीतिक वृत्तमा भुइँचालो ल्याउने गरी आफ्नो एजेन्डा सार्वजनिक गरेका छन् । म्यान अफ दि इलेक्सनको छवि बनाएका राईले तेस्रो पटक शानदार जितसहित संघीय संसद् छिर्ने दाउमा रहँदा उनले विवादस्पद योजना फालेका छन् ।
बुधबार धनकुटामा एमाले केन्द्रीय सदस्य तारा तितुङ र जिल्ला अध्यक्ष शिव आङलालाई साक्षी राखेर राईले सार्वजनिक गरेको १५ बुँदे प्रतिबद्धता पत्रमा सबैभन्दा सनसनीपूर्ण विषय बनेको छ— ‘गाँजा खेतीको वैधानिकता र बन्दीको रिहाइ’ ।
पूर्व खानेपानीमन्त्री समेत रहेका राईले आफ्नो घोषणापत्रको चौथो बुँदामा सिधै ‘गाँजा मुद्दा’लाई प्रहार गरेका छन् । उनले गाँजा खेतीलाई वैज्ञानिक अनुसन्धान र औषधिजन्य प्रयोगका लागि कानुनी मान्यता दिलाउने मात्र नभई, गाँजा ओसारपसारको आरोपमा जेलमा सडिरहेका निर्दोष व्यक्तिहरूलाई रिहा गर्न पहल गर्ने साहसिक घोषणा गरेका छन् ।
प्रतिवद्धता पत्रमा भनिएको छ, ‘गाँजा खेतीलाई वैधानिकता दिलाउन र ओसारपसारको नाममा जेल परेका निर्दोष व्यक्तिलाई रिहाइको निम्ति तत्काल पहल गरिनेछ ।’
राईले केवल गाँजाको कुरा मात्र गरेका छैनन्, धनकुटाको मुहार फेर्ने भौतिक पूर्वाधारका महत्त्वाकांक्षी योजना पनि अघि सारेका छन् । उनले धनकुटाको चर्चित नमस्ते झरनादेखि नाम्जे बजारसम्म ‘केवलकार’ सञ्चालन गर्ने र धरान–लेउती सुरुङ मार्ग निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने वाचा गरेका छन् । यी आयोजनाहरूले धनकुटालाई पूर्वी नेपालको आर्थिक हब बनाउने उनको दाबी छ ।
युवा मतदाता रिझाउन राईले यसपटक नयाँ रणनीति अपनाएका छन् । जेन–जी युवाहरूलाई लक्षित गर्दै उनले नवप्रवर्द्धनात्मक सीप र रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम ल्याएका छन् । प्रविधिको प्रयोग र आधुनिक बजार सुहाउँदो जनशक्ति तयार पार्न राज्यले विशेष भूमिका खेल्ने उनको योजनामा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।