विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपाललाई वैदेशिक शक्ति केन्द्रहरुको क्रिडास्थल र दोस्रो युक्रेन बन्नबाट जोगाउन देशभक्त र वामपन्थी शक्तिहरुको नेतृत्व आवश्यक रहेको बताएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तरगत टङ्किसिनवारीमा पार्टीको निर्वाचन कार्यालय उद्घाटन गर्दै गुरुङले वर्तमान राजनीतिक संकटको समाधान र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि माओवादी नेतृत्वको विकल्प नभएको दाबी गरे ।
उनले नेपालको राजनीति अहिले दुई धारमा स्पष्ट रुपमा विभाजित भएको उल्लेख गरे । ‘एउटा धार नेपाललाई वैदेशिक शक्तिको अखडा बनाएर दोस्रो युक्रेन बनाउने दिशामा उद्यत छ भने अर्को धार नेपाललाई स्वाधिन र आत्मनिर्भर बनाउन लडिरहेको छ,’ गुरुङले भने, ‘यी दुई धारबीचको लडाइँमा कुन पक्षलाई रोज्ने भन्ने जिम्मा अब जनताको हातमा छ ।’
गुरुङले विदेशी सेनाको अखडा बनाउने र नेपालको अस्मिता समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे । उनले नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वले मुलुकमा देखा परेका नयाँ चुनौतीहरुको सामना गर्न नसक्ने बताए । ‘ओलीजी र कांग्रेसको नेतृत्वले राष्ट्रियतामाथि परेको संकटलाई बेवास्ता गरिरहेका छन्, उनीहरु यथास्थितिवादमा रुमल्लिएका छन्,’ उनले टिप्पणी गरे ।
विशेष गरी नयाँ शक्तिका रुपमा चर्चामा आएका दलहरुप्रति लक्षित गर्दै गुरुङले उनीहरुलाई ‘साम्राज्यवादको उपज’ को संज्ञा दिए । ‘कुनै विचार, सिद्धान्त र स्पष्ट मार्गचित्र नभएका, सस्तो लोकप्रियताका पछाडि दौडिनेहरु राष्ट्रका लागि घातक हुन्,’ उनले भने, ‘पानीको फोका जस्तै आएका यस्ता शक्तिहरु विदेशी शक्ति केन्द्रको आडमा पद र पैसाका लागि जे पनि गर्न तयार छन् ।’ यस्ता शक्तिहरुले मुलुकको लोकतन्त्र र राष्ट्रिय अस्मितालाई कमजोर पार्ने उनको तर्क थियो ।
नेता गुरुङले कम्युनिष्ट एकताको प्रक्रियालाई तीव्रता दिइएको जानकारी गराउँदै हालसम्म सानो–ठूलो गरी करिब २० वटा घटकहरु एकजुट भइसकेको बताए । बाँकी रहेका देशभक्त र लोकतन्त्रवादी शक्तिहरुलाई पनि गोलवन्द गर्दै राष्ट्रिय सहमतिको मोडलमा जानुपर्नेमा उनले जोड दिए ।
मदजुर आन्दोलनको पृष्ठभूमिबाट आएका मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार उपेन्द्रकुमार रायको प्रशंसा गर्दै गुरुङले उनलाई तल्लो वर्ग र उत्पीडित समुदायको सच्चा प्रतिनिधि बताए । ‘मजदुर आन्दोलन र मधेशी समुदायको प्रतिनिधित्व गर्ने रायजी जस्तो पात्रलाई पार्टीले चयन गरेको छ, उहाँको जित नै यस क्षेत्रका श्रमजीवी र आधारभूत वर्गको जित हुनेछ,’ गुरुङले थपे ।
अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसहितको नेतृत्वको टोलीले मात्रै अहिलेको संकटबाट देशलाई निकास दिन सक्ने भन्दै उनले सबै कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा लाग्न निर्देशन दिए । निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुनुपर्ने भन्दै उनले आफ्नो दल पहिलो शक्ति बनेर मुलुकको अग्रगामी नेतृत्व गर्ने विश्वास समेत व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।