विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका मजदुर नेता उपेन्द्रकुमार रायले आफ्नो चुनावी एजेण्डा र प्राथमिकताहरु सार्वजनिक गरेका छन् । बुढीगंगा गाउँपालिकाको टंकिसिनवारीमा निर्वाचन कार्यालयको उद्घाटन गर्दै रायले पिछडिएका वर्ग र समुदायलाई नीति निर्माणको तहमा पुर्याउनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताए ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका राय लामो समयदेखि सुनसरी–मोरङ औद्योगिक करिडोरमा मजदुर आन्दोलनमा सक्रिय रहँदै आएका छन् । उनले आफू स्वयम् विपन्न मजदुर परिवारबाट आएकाले तल्लो तहका नागरिकको पीडा बुझ्ने र उनीहरुकै हक–हितका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो जित हाम्रो वर्गको जित हुनेछ,’ उनले भने, ‘मजदुर र उत्पीडित समुदायको पहुँच अब राज्यको माथिल्लो तहसम्म पुग्नुपर्छ ।’
रायले आफ्नो निर्वाचन क्षेत्रका लागि स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेका छन् । उनले हरेक अस्पतालमा उत्पीडित र गरिबका लागि निःशुल्क उपचारको व्यवस्था प्रभावकारी बनाउने, निजी विद्यालयहरुमा १० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई अनिवार्य निःशुल्क शिक्षा दिलाउने र किसानका लागि समयमै मल, बीउ तथा सिँचाइको प्रबन्ध गर्ने वाचा गरे ।
यस्तै, मोरङ–६ मा रहेको हात्ती आतंकको समस्या समाधान गर्ने र बुढी तथा केसलिया खोलाको बाढी नियन्त्रणका लागि बहुवर्षीय योजना अघि बढाउने उनको एजेण्डा छ । स्थानीय स्तरमै युवाहरुलाई रोजगारीको सिर्जना गरी खाडी मुलुक पलायन हुने अवस्थाको अन्त्य गर्ने उनले बताए ।
यस क्षेत्रमा रायले हेभिवेट उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र नेकपा एमालेका नेता विनोदप्रसाद ढकाल जस्ता स्थापित अनुहारसँगै अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुसँग उनको रोचक भिडन्त हुने देखिएको छ । तथापि, स्थानीय मजदुर र आधारभूत वर्गको ठूलो हिस्साको सहानुभूति र समर्थन आफूलाई रहेको दाबी रायले गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।