विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा काठमाडौं ६ का उम्मेदवार रहेका चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढकालसहितलाई नेकपामा प्रवेश गराएका हुन् ।
ढकाल विप्लबनिकट अखिल समाजवादीका पूर्वअध्यक्ष एवं उनका नजिकका विश्वासपात्र हुन् । सो अवसरमा अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायत ८ जना पार्टी केन्द्रीय सदस्य नेकपामा प्रवेश गरे । ढकालले काठमाडौं ६ मा नेकपाका उम्मेदवार हिमाल शर्मालाई सहयोग गर्ने बताएका छन् ।
अधिवक्तासमेत रहेका ढकाल प्रतिनिधिसभा काठमाडौँ–६ बाट प्रत्यक्षतर्फका उम्मेदवार हुन् । उनी पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विश्वासपात्र थिए । पार्टीको तर्फबाट निर्वाचन आयोगमा दर्ता गराउने, समानुपातिकतर्फको बन्दसूची तयार गर्नेलगायतका कानुनी कामको अगुवाइ ढकालले नै गर्दै आएका थिए । महासचिव विप्लवले उनलाई पार्टीका महत्वपूर्ण जिम्मेवारीहरू सुम्पिँदै आएका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले विप्लव नेतृत्वको नेकपा (माओवादी) लाई पनि आत्मसमीक्षासहित एकताको प्रक्रियामा आउन आग्रह गरे । उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन एकता आजको अपरिहार्य आवश्यकता भएको बताए । समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै प्रचण्डले पछिल्लो पटक एकता लगभग टुंगिएको बुझिए पनि जेन–जी आन्दोलनपछि प्रक्रिया सफल हुन नसकेको बताए ।
जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको भन्दै प्रचण्डले मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो लागेको टिप्पणी गरेका छन् । आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै उनले विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको उल्लेख गरे । वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उनको भनाइ छ ।
देश असहज परिस्थितिमा रहेकाले कम्युनिस्ट शक्तिहरू एक भएर अघि नबढे देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिँदै प्रचण्डले निर्वाचन नजिकिँदै गरेको अवस्थामा विचार मिल्ने सबै शक्तिलाई एकतामा सामेल हुन आह्वान गरे । उनले कुनै आवेगमा नभई राष्ट्रको असाधारण परिस्थितिलाई ध्यानमा राख्दै बृहत् कम्युनिस्ट एकताको प्रयास गरिएको बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।