लोड हुँदैछ...

मेनु

झापा–१ मा इन्जिनियर अशेष घिमिरेको फरक चुनावी शैली

झापा–१ मा इन्जिनियर अशेष घिमिरेको फरक चुनावी शैली

विर्तामोड । फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू आ–आफ्नै शैलीमा मतदाताको घरदैलोमा पुगिरहेका छन्—कोही उखु पेल्दै, कोही जेरी पकाउँदै, कोही दलबलसहित महँगा गाडीमा त कोही ठूला चुनावी सभा आयोजना गर्दै सामाजिक सञ्जालमा छाएका छन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहोल भने केही भिन्न देखिन्छ । यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्जिनियर अशेष घिमिरेको प्रचार–प्रसार शैली अरू उम्मेदवारभन्दा अलग छ । उनी कहिले साइकलमा त कहिले ट्याम्पो चढेर मतदाताको घरमा पुग्छन्, कहिले चोक–चोकमा प्रौढ मतदातासँग वैचारिक बहस गरिरहेका भेटिन्छन् ।

भिड, पैसाको प्रदर्शन र सामाजिक सञ्जालको चर्को प्रचारबाट टाढा उनी टाढा छन् । चुनावी अभियानमा रहेका घिमिरेले भने, “मानिसहरू अनावश्यक भीड, पैसाको दम्भ र शक्ति प्रदर्शनबाट आजित भइसकेका छन् । त्यसैले देशमा कतै त शालीनतासाथ वैचारिक मुद्दा उठाउने उम्मेदवार हुनैपर्छ भन्ने लागेको हो।”

बाहुनडाँगीका सामान्य शिक्षक परिवारमा जन्मिएका घिमिरेले स्थानीय विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि विराटनगर गएका थिए । विराटनगर बसाइँले उनलाई कक्षाकोठाबाट राजनीतिमा ल्यायो । गाउँमै हुँदा–खाँदाको विभेद उनले नजिकबाट देखेका थिए, जसलाई अनेरास्ववियुमा आबद्ध भएपछि वैचारिक दृष्टिकोण प्राप्त भयो । त्यसपछि उनी वामपन्थी राजनीतितर्फ आकर्षित भए र श्रमिक, किसान तथा वञ्चित समुदायका मुद्दामा सक्रिय हुन थाले ।

विद्यार्थी जीवनमै युवामा बढ्दो दुर्व्यसनविरुद्ध अभियान चलाएका घिमिरेको राजनीतिक यात्रा क्रमशः बेरोजगारी, श्रमिक र किसानका मुद्दामा केन्द्रित हुँदै गयो । वामपन्थी राजनीतिमा लाग्नुको कारणबारे उनी भन्छन्, “विराटनगरको मजदुर आन्दोलनको इतिहासले मलाई सधैं उद्वेलित गरिरह्यो । त्यसैले म सधैं मजदुर, श्रमजीवी र सीमान्तकृत समुदायको पक्षमा उभिन प्रेरित भएँ।”

झापा–१ बाट सांसद बन्ने लक्ष्यसहित घरदैलोमा रहेका घिमिरेको अभियान वामपन्थी वैचारिक धारमा आधारित छ । भेटघाटका क्रममा उनी लोकप्रियतावाद किन उपयुक्त छैन भन्ने विषयमा शालीन ढंगले मतदातासँग संवाद गरिरहेका देखिन्छन् । मेचीनगर–१४ मा आयोजित भेटघाटमा उनले भनेका थिए, “निराशाका बीच पनि हामीले आशाको दियो बाल्न छोड्नु हुँदैन।”

झापा–१ बाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री तथा हालका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए । यसपटक शर्मा उम्मेदवार नहुने भएपछि कांग्रेसले केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेकपा (एमाले) बाट सहकारी अभियान्ता रामचन्द्र उप्रेती उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निवर्तमान सांसद निशा डाँगी, राप्रपाले हेमराज कार्की र श्रम संस्कृति पार्टीले केवलराम राईलार्ई उम्मेदवार बनाएको छ ।

घिमिरे यसअघि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य थिए । एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाली कम्युनिस्ट पार्टीबाट उनी अहिले झापा–१ मा उम्मेदवार बनेका हुन् ।

मेचीनगरका स्थानीय युवा राजेश गुरागाईं भन्छन्, “घिमिरेको शालीन र वैचारिक प्रचार शैली देख्दा निकै सकारात्मक लागेको छ । सबै दलले अनावश्यक प्रभाव जमाउनुभन्दा आफ्ना एजेन्डा स्पष्ट रूपमा राखे राम्रो हुन्थ्यो।” घिमिरेको चुनावी शैलीबाट अन्य दलले सिक्नुपर्ने उनकोक भनाइ छ ।

झापा ५ मा रास्वपाका उम्मेदवार रहेका अर्का इन्जिनियर बालेन्द्र शाह (बालेन) को देशब्यापी चर्चा छ । तर, अर्का इन्जिनियर घिमिरेको भने मिडिया र सामाजिक सञ्जालमा खासै चर्चा छैन । यद्यपी मतदाताको बिचमा भने उनी पुगिरेहका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव हराउनु पर्नेमा बालेन्द्र र अशेषका मुद्धा मिल्छन् । तर, चुनावी मुद्दको कोणमा भने बालेन्द्र भन्दा अशेष फरक छन् । अशेष आफूलाई सांसदमा श्रमजीवि, किसान र उत्पीडित वर्गको मुद्दा लैजाने बताउँछन् ।

बालेन्द्रलाई भने सडकका साना व्यवसायी र श्रमजीविलाई पेलपाल गरेको आरोप लाग्ने गरेको छ । अशेष सहरलाई सुन्दर बनाउन गरिबलाई साथ दिनुपर्ने पक्षमा छन् । उनको तर्क छ, ‘गरिब हटाएर होइन, गरिबी अटाएर सहर सुन्दर हुन्छ ।’

बालेन्द्रले मल अभाव, बजार मूल्य, श्रम सुरक्षा र किसानका मुद्दामा मौनता राखेका छन् । अषेश भने हुँदा खाने नागरिकको आवाज नेतृत्वले बोल्नुपर्ने मान्यता राख्छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds