विराटनगर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ३ ुहेभीवेटु बौद्धिक उम्मेदवारहरूको प्रतिस्पर्धाका कारण चर्चाको केन्द्रमा रहेको छ। यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका १८ जना उम्मेदवारहरूको शैक्षिक योग्यता र पृष्ठभूमि हेर्दा यो क्षेत्र शिक्षित उम्मेदवारहरूको डिग्री नाप्ने थलो जस्तो देखिएको छ।
शैक्षिक योग्यताका आधारमा यस क्षेत्रमा सबैभन्दा ‘हाइ–प्रोफाइल’ उम्मेदवारका रूपमा डा. देउमान सम्वाहाम्फे देखिएका छन्। नेपाल कम्युनिष्ट पार्टीका ५८ वर्षीय सम्वाहाम्फेले विद्यावारिधि (पीएचडी) गरेका छन्।
उनलाई कडा टक्कर दिइरहेका नेपाली कांग्रेसका ४८ वर्षीय उम्मेदवार सुनिलकुमार शर्मा ब्याचलर अफ मेडिसिन (एमबीबीएस) शैक्षिक योग्यता बोकेका चिकित्सक हुन्। नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मा र डा। सम्वाहाम्फेबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ।
यो क्षेत्रमा स्नातकोत्तर (मास्टर्स तह उत्तीर्ण गर्ने उम्मेदवारहरूको संख्या पनि उल्लेख्य छ। नेकपा एमालेका तर्फबाट ५५ वर्षीय इरानकुमार राई (एमए.बीएड) चुनावी मैदानमा छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ४० वर्षीय गणेश कार्की, राष्ट्रिय ऊर्जाशील पार्टीका ४६ वर्षीय भुवनकुमार वाग्ले र संयुक्त नागरिक पार्टीका ४६ वर्षीय विदुर अधिकारीले पनि स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।
स्नातक ९ब्याचलर० उत्तीर्ण गरेकाहरूमा जय मातृभूमि पार्टीका ५७ वर्षीय नवराज मास्के र श्रम संस्कृति पार्टीका ३६ वर्षीय अमिर मगर छन्। ३६ वर्षीय मगर यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन्।
बौद्धिक व्यक्तित्वहरूसँगै अनुभव र सामान्य साक्षरता भएका उम्मेदवारहरू पनि यहाँ उत्तिकै सक्रिय छन्। नेपाल मजदुर किसान पार्टीका ५८ वर्षीय परशुराम विश्वास थारू साधारण साक्षर छन् भने राप्रपाका ५७ वर्षीय प्रेमप्रसाद सुवेदीले आईए र उज्यालो नेपाल पार्टीका ५२ वर्षीय मित्रसेन योञ्जनले आईकमसम्म पढेका छन्।
नेकपा माओवादी केन्द्रका ४५ वर्षीय खड्गबहादुर कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५५ वर्षीय डिल्लीबहादुर जवेगु, स्वतन्त्र उम्मेदवारहरू गणेश मिश्र र तेजप्रसाद भण्डारीले एसएलसीसम्मको अध्ययन गरेका छन्। मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राईले १२ कक्षा उत्तीर्ण गरेका छन् भने जनता समाजवादी पार्टीका मजेबुल रहमान र आम जनता पार्टीका कमलकुमार राई पनि चुनावी प्रतिस्पर्धामा छन्।
कुल १ लाख ५८ हजार ५७ मतदाता रहेको यस क्षेत्रमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ। तथ्याङ्कअनुसार ७७ हजार १ सय ७० पुरुष र ८० हजार ८ सय ८३ महिला मतदाता छन्। करिब ३ हजार ७ सय बढी संख्यामा रहेका महिला मतदाता नै यस क्षेत्रको नतिजाका लागि निर्णायक हुने अनुमान गरिएको छ।
कानेपोखरीका ४, पथरी शनिश्चरेका ८, बेलवारीका ८ र सुन्दरहरैँचाका ६ वटा वडा समेटिएको यस क्षेत्रमा ५५ वटा मतदान स्थल र १७९ वटा मतदान केन्द्र तोकिएका छन्।
विद्वान डाक्टरदेखि सामान्य साक्षरसम्म एउटै चुनावी मैदानमा उत्रिएको यो दृश्य मोरङ–३ का लागि ऐतिहासिक बनेको छ। अब मतदाताले कसको डिग्री र कसको एजेन्डालाई विश्वास गरेर सिंहदरबार पठाउने हुन्, त्यसका लागि निर्वाचनको परिणाम कुर्नुपर्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।