लोड हुँदैछ...

मेनु

बालेनप्रति कोशीका मुख्यमन्त्रीको कटाक्ष – झापा ५ मा आउनेहरूले प्रतिस्पर्धा गर्न सिकेर जानेछन्

बालेनप्रति कोशीका मुख्यमन्त्रीको कटाक्ष – झापा ५ मा आउनेहरूले प्रतिस्पर्धा गर्न सिकेर जानेछन्

दमक । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मतकुमार कार्कीले राजनीतिमा प्रतिशोधको भावना राख्न नहुने बताएका छन् । झापाको दमकमा आज पत्रकारहरूसँग कुरा गर्दै सचिव कार्कीले कतिपय उम्मेदवारहरू स्वस्थ प्रतिस्पर्धाका लागि नभई केवल प्रतिशोध साँध्नका लागि मात्रै चुनावी मैदानमा आएको टिप्पणी गरे ।

विशेष गरी झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रसङ्गमा बोल्दै कार्कीले भने, ‘यहाँ केही साथीहरू प्रतिशोध साँध्न मात्रै आउनुभएको छ । उहाँहरूले यहाँबाट प्रतिस्पर्धा कसरी गरिन्छ भन्ने कुरा सिकेर जानेछन् । नेकपा एमाले जहिले पनि सिद्धान्त र जनताको मुद्दामा केन्द्रित रहन्छ, हामी प्रतिशोधको राजनीति गर्दैनौँ ।’

एमालेका उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालदेखि नै यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएकाले यहाँका मतदाता उहाँको योगदान र व्यक्तित्वसँग पूर्ण रूपमा जानकार रहेको कार्कीले बताए । ‘केपी ओलीसँग झापा ५ को छुट्टै सामिप्यता, सम्बन्ध र प्रेम छ,’ मुख्यमन्त्री कार्कीले थपे, ‘अहिले मैदानमा आएका अन्य उम्मेदवारहरूले त आफ्नो परिचय नै दिँदै हिँड्नुपर्ने अवस्था छ । त्यसैले पनि यो क्षेत्र एमालेका लागि निकै सहज छ ।’

अध्यक्ष ओलीको निर्वाचन क्षेत्र भएकाले यसपटक यहाँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत निकै चासो बढेको उनले बताए । सचिव कार्कीले जुनसुकै स्वदेशी वा विदेशी निकायलाई झापा ५ मा आएर निर्वाचनको माहोल र जनताको उत्साह हेर्न आग्रह समेत गरे । उनले एमालेले सधैँ जनताको मत र विश्वासको कदर गर्ने भएकाले यसपटक पनि नतिजा एमालेकै पक्षमा रहने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds