लोड हुँदैछ...

मेनु

उदयपुर क्षेत्र नं. १ को चुनाबी चर्चा

काँग्रेसको पकड खुस्काउने प्रयासमा एमाले, थारु मत र एकताको बलमा चुनौति दिँदै नेकपाका चौधरी

काँग्रेसको पकड खुस्काउने प्रयासमा एमाले, थारु मत र एकताको बलमा चुनौति दिँदै नेकपाका चौधरी

उदयपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उदयपुर सङ्घीय निर्वाचन क्षेत्र नं( १ यस पटक विगतभन्दा फरक र अत्यन्तै प्रतिस्पर्धात्मक बनेको छ।

करिब दुई दशकदेखि नेपाली कांग्रेसको बलियो पकड रहँदै आएको यस क्षेत्रमा गठबन्धनको विघटन, कम्युनिस्ट धारको पुनर्संयोजन र नयाँ राजनीतिक शक्तिको प्रवेशले चुनावी गणित पूर्ण रूपमा फेरिएको छ।

यस पटकको निर्वाचनको सबैभन्दा रोचक पक्ष भनेको नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलदेव चौधरीको प्रभाब हो । परम्परागत कांग्रेस–एमालेको प्रतिस्पर्धाभन्दा बाहिर रहेरपनि चौधरी स्थानीय राजनीतिक वृत्तमा अन्य उम्मेदवारभन्दा बलिया र निर्णायक पात्रका रूपमा हेरिन थालेका छन्।

२०७४ सालमा नेकपा एमालेबाट त्रियुगा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका चौधरी स्थानीय विकास, प्रशासनिक अनुभव र जनसम्पर्कका हिसाबले परिचित छन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी हुँदै २०७९ को स्थानीय तह निर्वाचनमा पुनः मेयरमा प्रतिस्पर्धा गरेपनि काँग्रेस उम्मेदवारबाट चौधरी पराजित भएका थिए । यस पटक भने कम्युनिस्ट एकताको प्रतिनिधि पात्रका रूपमा संघीय चुनावी मैदानमा उत्रिएका छन्।

उदयपुर–१ मा उल्लेख्य सङ्ख्यामा रहेका थारु मतदाता र नेकपाको आफ्नै स्थायी मताधार चौधरीको मुख्य शक्ति बनेको छ। थारु समुदायबीचको पुरानो राजनीतिक सम्बन्ध, स्थानीय स्तरमा विकासका क्रममा बनाएको पहुँच र कम्युनिस्ट एकताको भावनाले चौधरीलाई सम्भावित विजेताको रूपमा समेत स्थापित गरिरहेको स्थानीय बताउँछन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसले पूर्वजिल्ला सभापति रहेका पुराना नेता विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । लामो समयदेखि डा.नारायण खड्काको नेतृत्वमा रहेको कांग्रेसको विरासत जोगाउने जिम्मेवारी बस्नेतको काँधमा छ । परम्परागत मताधार बलियो भएपनि खड्काले लामो समय नेतृत्व गर्दा पनि क्षेत्रको अपेक्षित विकास नभएको भन्दै मतदाता असन्तुष्ट छन्
। त्यसमाथि काँग्रेसका धेरै कार्यकर्ता रास्वपासहित नयाँ दलतिर गएकोले काँग्रेसलाई चुनौति छ ।

नेकपा एमालेले भने अनुभवी स्थानीय नेता दुर्गाकुमार थापा ‘स्वस्ती’लाई अघि सारेको छ। बेलका नगरपालिकाको नगर प्रमुखका रूपमा गरेका कामलाई आधार बनाउँदै एमाले पुनरागमनको प्रयासमा छ। गत निर्वाचनमा समानुपातिकतर्फ सो क्षेत्रमा एमाले पहिलो दल थियो । त्यसकै आडमा जित निकाल्ने दावी एमालेको छध ।

विगतका निर्वाचनमा लगातार पराजय भोगेको एमालेका लागि यस पटक पनि बाटो सहज छैन। अर्कोतिर जेनजी आन्दोलनको समयमा केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थापालाई आफ्नै कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै हिँड्नु परिरहेको छ ।

क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पारसमणि गेलाललाई उम्मेदवार बनाएको छ । युवा र पहिलो पटक मतदान गर्ने मतदाताबीच रास्वपाको प्रभाव देखिएपनि परम्परागत राजनीतिक संरचनामा उसको मत कति निर्णायक बन्छ, त्यो अझै अनिश्चित छ।

२०७९ को निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गटबन्धनको बलमा ३१ हजार २७० मत ल्याएर जित्दा एमाले २८ हजार ८९१ मतसहित दोस्रो स्थानमा थियो । यस पटक गठबन्धन नरहेकाले दलहरुको शक्ति परिक्षण हुनेछ ।

उदयपुर–१ मा १ लाख ४२ हजार ८०४ मतदाता छन्। कांग्रेस र एमालेको परम्परागत मत नयाँ शक्तिले क्षयीकरण गरेको र जेनजी आन्दोलनको समयमा सरकारमा दुबै दल रहेकोले त्यसको दोष पनि उनीहरुले बोक्नु परेकोले चुनौति छ ।

क्षेत्रमा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका पर्दछन् । गत स्थानीय तहको निर्वाचनमा त्रियुगामा नेपाली कांग्रेस, चौदण्डीगढी नगरपालिकामा नेकपा एमाले र बेलकामा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।

गेलालसँगै यस पटक उदयपुर क्षेत्र नं. १ मा एक स्वतन्त्र उम्मेदवारसहित जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश उम्मेदवार नयाँ अनुहार भएकाले यो निर्वाचन परम्परागत दुई–तीन दलको सीमित प्रतिस्पर्धाभन्दा फराकिलो बनेको छ ।

फागुन २१ गतेको मतदानले केवल एक सांसद मात्र चयन गर्ने छैन, उदयपुर–१ को भावी राजनीतिक दिशा कांग्रेस–एमालेको वर्चस्वमै रहन्छ कि नयाँ ध्रुवीकरणतर्फ जान्छ भन्ने टुंगो पनि लगाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds