काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत नियुक्त गरेको छ। आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकेको हो।
आयोगको माघ ९ गतेको निर्णयअनुसार मंगलबार परिपत्र जारी गर्दै उनीहरूलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो। नयाँ व्यवस्थाअनुसार अब अनुगमन अधिकृतहरूले निर्वाचन आचारसंहिता अनुगमनका क्रममा प्रत्यक्ष रूपमा ‘निर्वाचन आयोग’ को छाप प्रयोग गर्न पाउने अधिकार पाएका छन्, जसले जिल्ला तहमै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सहज बनाउने अपेक्षा गरिएको छ।
जिल्ला स्तरमै प्रभावकारी संयन्त्र निर्माण गर्दा आचारसंहिता उल्लंघनका घटनामा छिटो कारबाही सम्भव हुने आयोगको विश्वास छ। आयोगका अनुसार स्थानीय तहबाटै सूक्ष्म र नियमित अनुगमन हुन सके आचारसंहिता पालनामा थप कडाइ र प्रभावकारिता आउनेछ।
पछिल्ला दिनहरूमा आयोगले विभिन्न उम्मेदवार र सरोकारवालालाई आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने क्रमलाई तीव्र बनाएको छ। अब जिल्ला तहमै अनुगमन अधिकृतहरू सक्रिय भएपछि स्पष्टीकरण, निगरानी र कारबाहीको दायरा अझ व्यापक र प्रभावकारी हुने देखिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले यो विशेष कदम चालेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।