लोड हुँदैछ...

मेनु

मोरङ क्षेत्र नम्बर ४ को चुनावी सरगर्मी

मोदीका लागि ‘पपुलारिटी टेस्ट’

मोदीका लागि ‘पपुलारिटी टेस्ट’

विराटनगर । आगामी फागुन २१ गते हुने मोरङ क्षेत्र नम्बर ४ को निर्वाचनले यस क्षेत्रको राजनीतिक भविष्य मात्र तय गर्ने छैन, बरु नेपाली कम्युनिष्ट पार्टीका युवा अमनलाल मोदीको व्यक्तिगत लोकप्रियताको वास्तविक परीक्षण समेत गर्नेछ । अघिल्ला दुई निर्वाचनमा फरक–फरक शक्तिसँग गठबन्धन गरेर विजयी भएका मोदी यसपटक एक्लै चुनावी मैदानमा उत्रिँदा उनले आर्जन गरेको जनविश्वासको कसीमा घोटिनुपर्ने अवस्था आएको छ ।

२३ वडाको अंकगणित र मतदाता विवरण
मोरङ निर्वाचन क्षेत्र नम्बर ४ भौगोलिक र जनसांख्यिक हिसाबले निकै विविधतापूर्ण छ । यस क्षेत्रमा कटहरी गाउँपालिकाका ७ वटै वडा, ग्रामथान गाउँपालिकाका ७ वटै वडा, बेलबारी नगरपालिकाका ५, ६ र ७ नम्बर वडा तथा विराटनगर महानगरपालिकाका १, २, ३, ८, १० र १९ नम्बर वडा गरी जम्मा २३ वटा वडाहरू समेटिएका छन् ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा कूल १ लाख १९ हजार २५५ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ रहेको छ भने १ जना अन्य मतदाता रहेका छन् । मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदान स्थल र १३१ वटा मतदान केन्द्र तोकिएका छन् ।

वडागत विवरण हेर्दा कटहरी गाउँपालिकाका ७ वडामा २७ हजार ९६४ मतदाता छन् भने ग्रामथानका ७ वडामा २७ हजार ९९३ मतदाता रहेका छन् । त्यसैगरी, बेलबारीका तीन वडामा १२ हजार ८७९ र विराटनगरका ६ वटा वडामा ५० हजार ४१९ मतदाता रहेका छन् । यो ठूलो मतदाता संख्याले उम्मेदवारहरूको भाग्यको फैसला गर्नेछ ।

स्थानीय तहदेखि आम निर्वाचनसम्म
यस क्षेत्रको चुनावी इतिहास र अंकगणित निकै रोचक देखिन्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने नेकपा एमाले यहाँ सबैभन्दा बलियो शक्तिका रूपमा स्थापित भएको थियो । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने २३ वडाहरूमध्ये एमालेले १८ वटा वडामा जित हासिल गरेको थियो, जहाँ उसका उम्मेदवारहरूले कूल २५ हजार ६० मत प्राप्त गरेका थिए । सोही निर्वाचनमा नेपाली कांग्रेसले ३ वडा जित्दै २० हजार ५५२ मत ल्याएको थियो भने माओवादी केन्द्रले मात्र १ वडा जित्दै १० हजार ७९८ मतमा चित्त बुझाउनु परेको थियो ।

तर, स्थानीय निर्वाचनको ६ महिनापछि २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा भने समीकरण पूर्णतः बदलियो । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा माओवादीका अमनलाल मोदीले ३० हजार ६१२ मतका साथ प्रभावशाली जीत निकाले । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद प्रसाद ढकालले २४ हजार ४६३ मत प्राप्त गरे । उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ७,४६८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी ५,३३३ मतले पनि उल्लेख्य मत काटेका थिए । यसले के देखाउँछ भने, विगतमा मोदीको जितमा गठबन्धनको ठूलो हात थियो । तर, हालै सम्पन्न ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा माओवादीले एक्लै जितेर करिब ३ हजार ५०० मत वृद्धि गरेपछि मोदीको आत्मबल थप बढेको देखिन्छ ।

गठबन्धनको वैशाखी कि व्यक्तिगत प्रभाव ?
४२ वर्षे युवा नेता तथा पूर्व मन्त्री मोदीका लागि यो निर्वाचन अग्निपरीक्षा जस्तै छ । २०७४ सालमा नेकपा एमालेसँगको वाम गठबन्धन र २०७९ मा नेपाली कांग्रेससँगको लोकतान्त्रिक–वाम गठबन्धनको बलमा उनी यस क्षेत्रबाट निर्वाचित भएका थिए । तर, यसपटक परिस्थिति फेरिएको छ । प्रमुख प्रतिस्पर्धी दलहरू नेपाली कांग्रेस र नेकपा एमाले पनि आफ्ना प्रभावशाली नेताहरूलाई मैदानमा उतारेर एक्ला–एक्लै प्रतिष्पर्धामा छन् ।

कांग्रेसका तर्फबाट महामन्त्री गुरुराज घिमिरे र एमालेका तर्फबाट पूर्व मन्त्री जीवन घिमिरे चुनावी मैदानमा छन् । २०७९ को आम निर्वाचनमा यी दुवै नेताहरू प्रदेश सभातर्फ पराजित भएका थिए । अहिले प्रतिनिधि सभाको यो भिडन्तमा उनीहरू आफ्नो साख जोगाउने दाउमा छन् ।

यद्यपि, मोदीका लागि ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको परिणाम एउटा सुखद संकेत बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कमजोर देखिएको माओवादीले उपनिर्वाचनमा झण्डै ३ हजार ५०० मत वृद्धि गर्दै जित हासिल गरेपछि यस क्षेत्रमा माओवादीको जनाधार सुधारिएको विश्लेषण गरिँदैछ ।

साझा व्यक्तित्व र सहयोगी छवि
पार्टीगत मतभारका आधारमा एमाले बलियो देखिए पनि मोदीको व्यक्तिगत छवि यस क्षेत्रमा उनको सबैभन्दा ठूलो पुँजी हो । मतदाताहरूका अनुसार मोदी हरेक नागरिकको सहज पहुँचमा रहने नेता हुन् । उनको सरल र मिलनसार स्वभाव, सहयोगी भावना र जनताका साना–मसिना समस्यामा पनि प्रत्यक्ष सहभागी हुने शैलीले उनलाई दलीय घेराभन्दा बाहिरको ‘साझा व्यक्तित्व’का रूपमा स्थापित गरेको छ ।

विकास निर्माणका काममा देखाएको सक्रियता र सुख–दुःखमा साथ दिने स्वभावका कारण धेरै मतदाताहरूले उनलाई दलीय आस्थाभन्दा माथि उठेर व्यक्तिगत प्रभावका आधारमा हेर्ने गरेका छन् । यही ‘पपुलर’ छविले उनलाई यस कठिन प्रतिष्पर्धामा पनि बलियो दाबेदार बनाएको छ ।

नयाँ मतदाता र फेरिएको राजनीतिक एङ्गल
यस निर्वाचनमा झण्डै ५ हजार नयाँ मतदाताहरू थपिएका छन् । युवा पुस्ताको यो नयाँ मत कुन दिशामा जान्छ भन्ने कुराले पनि निर्णायक भूमिका खेल्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति पनि उल्लेख्य छ, जसले ठूला दलको मत काट्न सक्ने सम्भावना छ ।

अन्ततः, यो निर्वाचन मोदीका लागि ‘पपुलारिटी टेस्ट’ हो । उनले हिजोका दिनमा गठबन्धनको बलमा चुनाव जितेका थिए या आफ्नै व्यक्तिगत लोकप्रियताले ? यसको जवाफ फागुन २१ गते मतदाताले दिनेछन् । मतदाताले उनको सादगी र सहयोगी भावनालाई मुल्याङ्कन गर्छन् वा दलीय लहरलाई, त्यसका लागि भने निर्वाचनको अन्तिम परिणाम कुर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds