लोड हुँदैछ...

मेनु

केपी ओली, देवराज घिमिरे र विनोद ढकाललाई जिताउन पूर्वमन्त्रीको नेतृत्वमा चुनाव परिचालन कमिटी

केपी ओली, देवराज घिमिरे र विनोद ढकाललाई जिताउन पूर्वमन्त्रीको नेतृत्वमा चुनाव परिचालन कमिटी

विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले आफ्ना प्रभावशाली र ‘हेभिवेट’ उम्मेदवारहरूलाई जिताउन कडा चुनावी रणनीति अख्तियार गरेको छ। एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको चुनावी कमान्ड सम्हाल्ने जिम्मेवारी पूर्वमन्त्रीहरूलाई सुम्पिँदै विशाल निर्वाचन परिचालन कमिटीहरू गठन गरेको हो।

झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन परिचालनका लागि पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा ५०१ सदस्यीय समिति बनाइएको छ। ओलीको विश्वासिलो कमान्डर मानिने दाहालको नेतृत्वमा बनेको यस समितिमा केन्द्रीय सदस्यहरू दीपक कार्की र मेनुका काफ्ले सहसंयोजक रहेका छन्। निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन यो क्षेत्रमा ९ वटा विभिन्न विषयगत उपसमितिहरू समेत क्रियाशील गराइएको छ।

त्यसैगरी, मोरङ क्षेत्र नम्बर ६ मा एमाले उम्मेदवार विनोद ढकाललाई विजयी गराउन पूर्वमन्त्री तथा सोही क्षेत्रका पूर्वसांसद लालबाबु पण्डित मैदानमा उत्रिएका छन्। पण्डितको नेतृत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ, जसमा भूगोलका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू सम्मिलित छन्। यो कमिटीले विराटनगर महानगरपालिकाका ७ वटा वडासहित सुन्दरहरैंचा र बुढीगंगाका क्षेत्रहरूमा घरदैलो र वडा भेलालाई तीव्र बनाएको छ।

झापा क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख देवराज घिमिरेलाई जिताउन कोशी प्रदेशका निवर्तमान मन्त्री एकराज कार्कीको संयोजकत्वमा परिचालन समिति घोषणा गरिएको छ। यहाँ निर्वाचन रणनीति तय गर्न एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ समेत बनाइएको छ। जसमा केन्द्रीय सदस्य एलिशा गौतम, हरिचरण सिवाकोटी र कोशी प्रदेशका बहालवाला मन्त्री चिन्तन पाठकलगायतका नेताहरू रहेका छन्।

एमालेले गठन गरेका यी सबै समितिहरूमा केन्द्रीय सदस्यदेखि टोल तहका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिलाई अनिवार्य रूपमा सहभागी गराइएको छ। पूर्वमन्त्रीहरूको नेतृत्वमा बनेका यी विशाल कमिटीहरूले मतदाताको घरदैलोमा पुग्ने, स्थानीय मुद्दाहरू पहिचान गर्ने र ठोस चुनावी रणनीति निर्माण गरी कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन्। शीर्ष नेताहरू चुनावी मैदानमा रहेकाले एमालेले यसपटक सांगठनिक परिचालनलाई निकै आक्रामक र व्यवस्थित बनाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।