लोड हुँदैछ...

मेनु

आयोगले सोध्यो बालेन, महेश बस्नेत र हर्क साम्पाङसहित ५ जनालाई स्पष्टीकरण

आयोगले सोध्यो बालेन, महेश बस्नेत र हर्क साम्पाङसहित ५ जनालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको मामिलामा कडाइ गर्दै विभिन्न दलका प्रभावशाली नेता र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको छ । आयोगले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन), नेकपा एमालेका सचिव महेश बस्नेत र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित ५ जनालाई स्पष्टीकरण सोधेको हो ।

आयोग स्रोतका अनुसार रास्वपा नेता बालेन शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा हत्यारा जस्तो गम्भीर र अमर्यादित शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण मागिएको छ । प्रधानमन्त्रीका दाबेदारहरूबीचको डिबेटको सन्दर्भमा ओलीको फेसबुक स्टाटसमा बालेनले गरेको टिप्पणी आचारसंहिता विपरित रहेको आयोगको ठहर छ । अर्कोतर्फ, बालेनलाई लक्षित गरी छाउरा जस्ता शब्द प्रयोग गरेको आरोपमा एमाले नेता महेश बस्नेतसँग पनि आयोगले जवाफ मागेको छ ।

यसैगरी, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचनमा बालबालिका प्रयोग गरेको र उनीहरूलाई पार्टीको टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको छ । त्यस्तै, निकोलस भुसाललाई जेनजी आन्दोलनको जुत्ता भन्दै अनधिकृत प्रचार गरेको र जानुका पाठकलाई अन्य उम्मेदवारप्रति घृणाजन्यअभिव्यक्ति दिएको आरोपमा आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

व्यक्तिगत उम्मेदवारबाहेक आयोगले संस्थागत उल्लंघनमा पनि निगरानी बढाएको छ । आचारसंहिता लागू भइसकेको अवस्थामा अनुमति नलिई अधिवेशन गर्ने स्वास्थ्य स्वयंसेवक संघ र नियम विपरित शिक्षक सरुवा गर्ने निकायलाई समेत स्पष्टीकरण सोधिएको आयोग स्रोतले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सामाजिक सञ्जाल र भौतिक गतिविधिमा हुने आचारसंहिता उल्लंघनलाई रोक्न आयोगले यो सक्रियता देखाएको हो

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।