लोड हुँदैछ...

मेनु

ओखलढुंगामा वृद्ध दम्पतीको विभत्स हत्या, लुटपाटपछि हत्या गरेको आशंका

ओखलढुंगामा वृद्ध दम्पतीको विभत्स हत्या, लुटपाटपछि हत्या गरेको आशंका

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक वृद्ध दम्पतीको लुटपाटपछि विभत्स हत्या भएको छ।

भदौरेस्थित बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको शव हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैजनाको हत्या गरिएको प्रारम्भिक आशंका गरिएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल पुगेको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा अनुसन्धान सुरु भइसकेको जानकारी दिए। उनले आफू पनि घटनास्थलतर्फ जाँदै गरेको र घटनाबारे थप विवरण संकलन भइरहेको बताए।

उक्त स्थानमा यसअघि पनि एक महिनाअघि ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो। सो घटनामा संलग्न आरोपमा चार जना पक्राउ परिसकेका छन्।

लगातार दुई पटक वृद्ध दम्पतीको हत्या भएपछि स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले पछिल्लो घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds