लोड हुँदैछ...

मेनु

पूर्वीय दर्शनको आलोकमा आधुनिक शासन

पूर्वीय दर्शन मानव जीवन, समाज र शासन प्रणालीलाई नैतिकता, आत्मसंयम, करुणा र कर्तव्यबोधको आधारमा मार्गदर्शन गर्ने चिन्तन परम्परा हो। वेद, उपनिषद्, गीता, बुद्ध दर्शन, जैन दर्शन तथा कन्फ्युसियस विचारधाराले व्यक्तिको आचरण, सामाजिक उत्तरदायित्व र राज्य सञ्चालनका मूल्यहरूलाई सन्तुलित रूपमा व्याख्या गरेका छन्। यी दर्शनहरूले शासनलाई सेवा, न्याय र कल्याणको माध्यमका रूपमा परिभाषित गरेका छन्।

पूर्वीय चिन्तन अनुसार शासक आत्मसंयमी, सत्यनिष्ठ, करुणामय र प्रजाप्रति उत्तरदायी हुनुपर्छ। “राजा धर्म” र “कर्तव्ययोग” जस्ता अवधारणाले नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि समर्पित हुन प्रेरित गर्छन्। शासनको उद्देश्य जनताको सुख, सुरक्षा र नैतिक उन्नति सुनिश्चित गर्नु हो भन्ने मान्यता पूर्वीय दर्शनको केन्द्रमा रहेको छ।

आधुनिक शासन प्रणाली भने लोकतन्त्र, विधिको शासन, पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितामा आधारित छ। प्रविधिको विकास, विश्वव्यापीकरण र सामाजिक सचेतनाले शासनलाई थप खुला र उत्तरदायी बनाएको छ। तर व्यवहारमा भ्रष्टाचार, सत्ता दुरुपयोग, नैतिक पतन र सेवा प्रवाहको कमजोरी जस्ता समस्या विद्यमान छन्, जसले शासनप्रतिको जनविश्वास कमजोर बनाएको छ।

यही सन्दर्भमा पूर्वीय दर्शनको मूल्य र सिद्धान्त आधुनिक शासनका लागि मार्गदर्शक बन्न सक्छन्। सत्य, अहिंसा, संयम, सेवा र सहअस्तित्वका सिद्धान्तहरूले प्रशासनिक व्यवहारलाई नैतिक र मानवीय बनाउने क्षमता राख्छन्। नेतृत्वमा आत्मअनुशासन र नैतिक प्रतिबद्धता स्थापित भएमा मात्र पारदर्शिता र उत्तरदायित्व वास्तविक अर्थमा कार्यान्वयन हुन सक्छ।

पूर्वीय दर्शन शक्ति प्रयोगमा संयम, विवेक र उत्तरदायित्वको शिक्षामा केन्द्रित छ। शक्तिले समाजमा शान्ति, सुरक्षा र समृद्धि सुनिश्चित गर्नुपर्छ। नीति निर्माणमा दीर्घकालीन दृष्टिकोण, पारदर्शिता, जनसाधारणको आवश्यकता बुझ्ने क्षमता र नीतिप्रतिको नैतिक प्रतिबद्धता महत्त्वपूर्ण छन्। यस प्रकार, नीति र शासन मूल्य, नैतिकता र चेतनाको एकीकृत अभ्यासको माध्यम बनेर दीर्घकालीन समाजिक स्थायित्वको आधार तयार गर्छ।

पूर्वीय चिन्तन भन्छ, सत्यको अनुभूति बिना ज्ञान र कर्मका सबै प्रयत्नहरू अधुरा हुन्छन्। सत्यको प्रकाशमा मात्र कर्ममा पवित्रता आउँछ, विचारमा स्पष्टता जन्मिन्छ र हृदयमा करुणा प्रस्फुटित हुन्छ। जब सत्यको अनुभूतिमा व्यक्ति जागृत हुन्छ, ऊ आफ्नो अहंकार, लोभ, क्रोध, मोहका दुर्गन्धित छायाहरूबाट मुक्त भई आत्म–दर्शनको उज्यालोमा स्नान गर्छ। यो स्नान जीवनलाई पवित्रताको सन्धिमा पुर्याउने आत्म–क्रान्ति हो।

नीति र शासनले समाजको मूल्य, नैतिकता र दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष सम्बन्ध राख्दछ। पूर्वीय दर्शनले यो सम्बन्धलाई विशेष महत्त्व दिएको छ। प्राचीन भारतीय र नेपाली दार्शनिक परंपरामा, नेतृत्व र शक्ति प्राप्ति धर्म, न्याय र समाजकल्याणमा आधारित हुनुपर्छ। नेतृत्वको वास्तविक उद्देश्य व्यक्तिगत स्वार्थको सन्तुष्टि होइन, समग्र मानवता र राष्ट्रको हितमा योगदान गर्नु हो।

पूर्वीय दर्शनले शक्ति प्रयोगमा संयम, विवेक र उत्तरदायित्वको महत्त्व पनि देखाउँछ। शक्ति दबदबा, सैन्य बल वा आर्थिक प्रभुत्वको साधन होइन; यसले समाजमा शान्ति, समृद्धि र सुरक्षा सुनिश्चित गर्नुपर्छ। जब शासन प्रणालीमा पारदर्शिता, जिम्मेवारी र नैतिक मूल्यको समावेश हुन्छ, तब भ्रष्टाचार, अन्याय र अस्थिरता घट्छ। नीति निर्माणमा दीर्घकालीन दृष्टिकोण अपनाउने, जनसाधारणको आवश्यकता बुझ्ने र पारदर्शिता कायम गर्ने तत्वहरू पूर्वीय दर्शनका महत्वपूर्ण शिक्षा हुन्।

पूर्वीय दर्शनले नेतृत्व र शासनमा आत्म-ज्ञान र सामाजिक चेतनाको संयोजन आवश्यक ठान्दछ। नेताले  आफ्नो आचार, सोच र निर्णयमा नैतिकता, करुणा र न्यायको अनुपालन गर्नुपर्छ। यसले नेतृत्वलाई मात्र होइन, समाजलाई पनि नैतिक र सुसंस्कृत बनाउँछ। नीति निर्माणमा पनि सामाजिक मूल्य, सांस्कृतिक परम्परा र स्थानीय आवश्यकता समेटिनु आवश्यक छ। जब नीति र प्रशासन पूर्वीय मूल्यमा आधारित हुन्छन्, तब त्यसले समाजमा विश्वास, सहकार्य र स्थायित्व सुनिश्चित गर्दछ।

नेपाल जस्ता बहुसांस्कृतिक र बहुभाषिक देशका लागि पूर्वीय दर्शनमा आधारित शासन अझ महत्त्वपूर्ण छ। राजनीतिक प्रणाली र नीति निर्माणमा यी मूल्यलाई समेट्दा  प्रशासनिक दक्षता मात्र नभई सामाजिक न्याय, समावेशिता र सांस्कृतिक पहिचान पनि संरक्षण हुन्छ। यसले राष्ट्रिय एकता र दीर्घकालीन विकासमा योगदान पुर्याउँछ।

पूर्वीय दर्शनले शक्ति–केन्द्रित शासनलाई कर्तव्य–केन्द्रित लोक–सेवामा रूपान्तरण गर्न सत्य, कर्म र आत्मज्ञानको सन्देश दिन्छ। सत्य विना शक्ति स्वेच्छाचारमा रूपान्तरित हुन्छ, कर्ममा उत्तरदायित्व विना शासनमा भ्रष्टाचार पलाउँछ, र आत्मज्ञान विना निर्णयहरू स्वार्थमा निर्देशित हुन्छन्। पूर्वीय चिन्तनले शासनलाई तपस्या र सेवा ठान्दै शक्ति जनताको कल्याणका लागि उपयोग गर्न सिकाउँछ। शासकमा नैतिकता र दायित्वबोध आएपछि मात्र समाज अनुशासित र राष्ट्र सुदृढ हुन्छ। यसैले, पूर्वीय दर्शनमा आधारित शासन नै नेपालमा न्याय, शान्ति र समृद्धिको स्थायी मार्ग बन्न सक्छ।

नैतिकता, यहाँ, नियमको कठोर सिलसिला होइन, जीवनलाई जीवन बनाउने आत्म–सजगताको प्रतिविम्ब हो। पूर्वीय दर्शनले नैतिकताको बासस्थान हृदयमा राख्दछ, जहाँबाट सार्वजनिक जीवनका सबै क्रियाकलापहरूलाई पवित्रताको स्पर्श दिइन्छ। शासन, प्रशासन र नेतृत्व नैतिक बोधबाट शून्य भयो भने, अधिकार स्वार्थमा रूपान्तरित भई शक्ति दुरुपयोगको यन्त्र बन्न पुग्दछ।

आजको समाजमा अपराध, भ्रष्टाचार, विकृति र अनैतिक आचरणको महामारीले सत्तालाई मात्र होइन, समाजको मूलाधारलाई समेत क्षतविक्षत बनाएको छ। यस्ता स्थितिमा पूर्वीय दर्शनले आत्म–समीक्षा र आत्म–संयममार्फत शासन प्रणालीलाई नैतिक र पारदर्शी बनाउन सकिन्छ भन्ने साहसिक दृष्टिकोण दिन्छ। वेदको निष्कर्ष, उपनिषद्को ध्यान, गीताको कर्मयोग र बुद्धको अष्टाङ्गिक मार्गले जन–शासन सम्बन्धलाई सेवाभावमा रूपान्तरण गर्न सक्ने शक्तिशाली आधार प्रदान गर्छ।

पूर्वीय दर्शनले सत्यको वरण बिना, शासन  स्वार्थको अखडा रहन्छ; कर्ममा उत्तरदायित्व बिना, शक्ति स्वेच्छाचारिता र भ्रष्टाचारमा पतित हुन्छ; नैतिकता बिना, कानुनी शासन कागजी नारामा सीमित रहन्छ र आत्मज्ञान बिना, व्यक्तिगत र सार्वजनिक जीवन असन्तुलित रहन्छ। सत्य, कर्म, नैतिकता र आत्मज्ञान शासनको चार आधारस्तम्भ हुन्, जसको अनुप्रयोग विना शासकीय व्यवस्था दिगो, न्यायपूर्ण र उत्तरदायी हुन सक्दैन। शक्ति जब सत्यको सेवक बन्छ, तब मात्र शासन जन–कल्याणको मार्गमा अग्रसर हुन्छ। शक्ति जब न्यायको पालक बन्छ, तब शासकीय नीतिहरूमा जनताको भरोसा पलाउँछ। र जब नीति नैतिकताको प्रेरक बन्छ, तब सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको उज्यालो फैलिन्छ।

नीति र शासनमा पूर्वीय दर्शनको मार्गदर्शन समाज, नेतृत्व र शक्ति प्रणालीलाई नैतिक, न्यायपूर्ण र स्थिर बनाउने एउटा मार्ग हो। धर्म, न्याय, करुणा र विवेकका आधारमा सञ्चालन भएको शासनले मात्र दीर्घकालीन शान्ति, समृद्धि र सामाजिक सन्तुलन सुनिश्चित गर्न सक्छ। पूर्वीय दर्शनले नेतृत्व र शक्ति प्रयोगमा मानवताको मूलतत्त्वलाई पुनः केन्द्रमा राखेर शासनलाई समाजको सेवामा रूपान्तरण गर्ने दृष्टिकोण प्रदान गर्दछ।

पूर्वीय दर्शनले मानिसलाई अहंकार, लोभ र लालचको अधोगतबाट मुक्त गराउन आत्म–अनुशासन र आत्म–अवलोकनको मार्ग देखाउँछ। यसको मूल सूत्र “सत्यं शिवं सुन्दरम्” केवल सांस्कृतिक घोषणापत्र नभई जीवनका प्रत्येक निर्णयमा नैतिक र आध्यात्मिक मार्गदर्शन गर्ने जीवित मन्त्र हो। सत्य यहाँ बाह्य स्वीकृति मात्र होइन, चेतनाको गहिराइमा अनुभूत हुने अनुभव हो, जहाँ भ्रमका पर्दाहरू हटाइ वास्तविक न्याय, सेवा र समाजकल्याणको अभ्यास सम्भव हुन्छ।

समकालीन शासन प्रणालीमा पूर्वीय दर्शनको समावेशीकरणले पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँछ। जब सरकारी निकायहरू मूल्य–आधारित सेवाप्रदायकका रूपमा कार्य गर्छन्, तब नागरिकको विश्वास बढ्छ र लोकतन्त्र सुदृढ हुन्छ। यस दृष्टिकोणले समाजमा सहिष्णुता, सहयोग र सामाजिक सद्भावको वातावरण पनि सिर्जना गर्छ। पूर्वीय दर्शन र आधुनिक शासनको समन्वयले नेतृत्व र प्रशासनमा नैतिकता, पारदर्शिता र समाजकल्याणको आधार स्थापना गर्दछ, जसले राष्ट्रलाई दीर्घकालीन स्थायित्व र समग्र विकासको मार्गमा अघि बढाउँछ।पूर्वीय दर्शन र आधुनिक शासनबीचको समन्वयले सामाजिक न्याय, दिगो विकास र सामूहिक समृद्धिको आधार निर्माण गर्न सक्छ। यसले शासनलाई शक्ति केन्द्रित संरचनाबाट सेवा केन्द्रित प्रणालीतर्फ रूपान्तरण गर्न सहयोग पुर्याउँछ। त्यसैले, आधुनिक शासनलाई मानवीय, नैतिक र कल्याणमुखी बनाउन पूर्वीय दर्शनको आलोकमा पुनः मूल्याङ्कन गर्नु आजको आवश्यकता बनेको छ। (लेखक उप्रेती नेपाल सरकारका उपसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।