लोड हुँदैछ...

मेनु

सडक र पुलको युग सकियो : अब शिक्षा, स्वास्थ्य र रोजगारी नै चुनावी एजेन्डाको मुख्य आधार

सडक र पुलको युग सकियो : अब शिक्षा, स्वास्थ्य र रोजगारी नै चुनावी एजेन्डाको मुख्य आधार

विराटनगर । निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ४ र ६ अन्तर्गत पर्ने ग्रामथान र बुढीगंगाका ग्रामीण बस्तीहरूमा यसपटक एउटा गम्भीर र शक्तिशाली सन्देश गुन्जिरहेको छ– ‘सडक र पुल त जसले जिते पनि बनाउँछ, अब हाम्रा छोराछोरीले राम्रो पढ्न र काम गर्न पाउनुपर्छ ।’ दशकौँदेखि भौतिक पूर्वाधारलाई मात्रै विकासको मानक मान्दै आएका यहाँका मतदाताहरूले यसपटक नेताहरूका अगाडि स्वास्थ्य, शिक्षा र रोजगारीको कडा सर्त तेर्साउने बताउछन् ।

मोरङको क्षेत्र नम्बर ४ र ६ का ग्रामथान–५ शान्तिपुर, गिदनिया टोला र बुढीगंगाको कन्याथानमा मंगलवार पु्ग्दा दलका झण्डा वा नारामा भन्दा पनि जनताका आधारभूत आवश्यकतामा बढी केन्द्रित देखिन्छ । कुनै समय यो क्षेत्रको सबैभन्दा ठूलो चुनावी एजेन्डा ‘सिघिया खोलाको पुल’ हुन्थ्यो । सुनसरीको दुहबी जोड्ने यो पुल पूर्वमन्त्री विजय गच्छदारको पालामा धेरै पटक शिल्यान्यास भयो तर काम अघि बढेन । अन्ततः पूर्वमन्त्री अमनलाल मोदीको कार्यकालमा यो पुल त बन्यो । टोल टोलमा सडकहरु कालोपत्रे भएका छन् । यि टोलहरुमा घर बासका टाटिले बेरेका छन् तर सडहरु भने चिल्ला छन् । अब सडक पुल बनिसकेकाले हाम्रा मागहरु पनि फेरीएको गिदनिया टोलका ७० वर्षीय तुलाराम विश्वासले बताए । उनले भने ‘गाउँका युवाहरू बेरोजगारीका कारण ऋण लिएर विदेश गएका छन्, कतिपय त बाकसमा फर्किएका छन् । अब हामीलाई पुल देखाएर भोट माग्ने दिन सकिए, अब रोजगारी दिने नेता चाहियो ।’

यसपटकको निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, नेपालि कम्नीष्ट पाटी (नेकपा) केन्द्रका अमनलाल मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् । ८१ वर्षीय ज्येष्ठ नागरिक फोक्सु विश्वास थारूको भोगाइ अर्कै छ । उनी भन्छन्, ‘मैले धेरै चुनाव देखेँ, कांग्रेस, एमाले, सद्भावना सबैलाई भोट हालेँ । अहिले चुनाव पैसा, मासु र रक्सीले जित्ने माध्यम बनेको छ । पार्टी राम्रा भए पनि व्यक्ति खराब हुँदा जनताले दुःख पाए ।’

ग्रामथानकी काजवती थारूले उठाएको मुद्दा झन् गम्भीर छ । उनले गाउँमा व्याप्त बेरोजगारी र जनचेतनाको अभावलाई मुख्य समस्याका रूपमा प्रस्तुत गरिन् । ‘हाम्रो टोलमा धेरै बेरोजगार छन्, उनीहरूको कुरा सुनिदिने कोही छैन । स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने समेत धेरैलाई थाहा छैन,’ उनले भनिन्, ‘बिरामी भएपछि ऋण खोज्नुपर्ने बाध्यता छ । जितेर गएपछि नेताहरू म सबैको जनप्रतिनिधि हुँ भन्ने कुरा बिर्सन्छन्, उनीहरू दलको मात्रै मान्छे बन्छन् ।’

बुढीगंगा क्षेत्रका मतदाताहरूको आक्रोश झन् चर्किएको छ । बुढीगंगा मोरङ क्षेत्र नम्बर ६ मा पर्छ । यस क्षेत्रमा नेपालि कांग्रेसका नेता डा.शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपा ओपेन्द्र राय, रास्वपाकि रुविना आचार्य लगायतका उम्मेदवार छन् ।

बुढीगंगा–७ का डल्लु ऋषिदेवले खानेपानीको एउटा धारा जोड्न १२ हजार रुपैयाँसम्म तिर्नुपरेको पीडा सुनाइन् । उम्मेदवारहरूले धारा जडान निःशुल्क गर्ने ग्यारेन्टी नगरेसम्म भोट नदिने मुडमा यहाँका बासिन्दा छन् । त्यस्तै, गणेश बहादुर मगर र खुदिलाल चौधरीले किसानका समस्यालाई मुख्य चुनावी मुद्दा बनाएका छन् । ‘सडक र पुल त बन्दै गर्छन्, तर खेतीको समयमा मल र बीउका लागि सधैँ विदेशको मुख ताक्नुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ ?’ खुदिलालको प्रश्न छ । सरकारी विद्यालयको शैक्षिक स्तर खस्किँदै जानु र गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा नपाएकाले यो मुद्धा उठाउने उनीहरु बताउछन् ।

शान्तिपुर, सीताराम चोक र कन्याथानका मतदाताहरूका अनुसार अहिलेसम्म उम्मेदवारहरू गाउँ छिरेका छैनन् । शहरका होटल र चिया पसलमा चुनावी रणनीति बने पनि ग्रामीण बस्तीका वास्तविक समस्या सुन्न कोही आइपुगेको छैन । शान्तिपुरका बलराम माझीका अनुसार खर्च बढ्ने डरले नेताहरू अन्तिम समयमा मात्र भोट माग्न आउने दाउमा छन् । तर, यसपटक मतदाताहरू सचेत छन् । उनीहरू पार्टीको चिन्ह वा नेताको अनुहार भन्दा पनि उसको भिजन र विगतको काम हेरेर मात्र मतदान गर्ने तयारीमा छन् ।

मोरङ ४ र ६ का मतदाताले भौतिक विकास सडक र पुल अब नियमित हुने काम भएकाले चुनावी एजेन्डा नहुने बताउन थालेका छन् । अबको निर्वाचनको कसी भनेको गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य र स्थानीय स्तरमै रोजगारीको सुनिश्चितता रहेको उनीहरु बताउछन् । जुन उम्मेदवारले यी मुद्दाहरूमा ठोस प्रतिबद्धता र कार्ययोजना ल्याउँछ, उसैलाई मात्र यसपटक जनताले आफ्नो अमूल्य मत दिने यहाका मतदाता बताउछन् । क्षेत्र नम्बर ४ मा १ लाख १९ हजार २५५ जना मतदाता रहेका छन् भने ६ नम्बर क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतादात रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds