लोड हुँदैछ...

मेनु

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ सुरु

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ सुरु

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

सोमबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर अनुगमन गरेका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फ आवश्यक सबै मतपत्र छपाइ सकिएको जानकारी दिएका हुन् ।

भण्डारीका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न भइसकेको छ। अब प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका मतपत्र छपाइ सोमबारदेखि सुरु गरिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने र यो काम करिब १५ दिनभित्र सम्पन्न हुने भण्डारीको भनाइ छ । छपाइ सम्पन्न भएपछि क्रमशः सबै निर्वाचन केन्द्र र मतदानस्थलमा मतपत्र ढुवानी गरिने र आगामी फागुन ५ गतेभित्र देशभर पुर्‍याइसक्ने लक्ष्य रहेको उनले बताए।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले पनि समानुपातिकतर्फको करिब २ करोड ८ लाख ५० हजार मतपत्र छपाइ सकिएको पुष्टि गर्दै प्रत्यक्षतर्फको छपाइ कार्य पनि सुरु भइसकेको जानकारी दिए। यसअघि केन्द्रले करिब ११ लाख नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई बुझाइसकेको छ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले मतपत्र सुरक्षासहित निर्वाचनको सम्पूर्ण तयारी व्यवस्थित रूपमा अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।