विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमा उनकी श्रीमतिसहित झापा क्षेत्र नं. ५ मा मतदाताको घरदैलो अभियान सुरु भएको छ ।
निर्वाचन आयोगले मतदान हुने १७ दिन अगाडिबाट मात्र मतदाताको घरदैलो गर्न पाइने आचारसंहिमता जारी गरेको भएपनि सोमबारबाट दमकमा बालेनको पक्षमा घरदैलो अभियान सुरु भएको हो ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जारी गरेको आचारसंहितामा मतदान हुने १७ दिन अगाडि बाट मात्र दल तथा उम्मेदवारले घरदैलो अभियान सञ्चालन गर्न पाउने व्यवस्थता छ । आचासंहिताको परिच्छेद ४ दफा १३ मा उम्मेदवार र दलले पालना गर्नुपर्ने आचारसंहिताबारे लेखिएको छ । दफा १३ को उपदफा १ (म) मा मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारको लागि जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चार माध्यममा विज्ञापन गर्न र घरदैलो गर्न पाइने स्पष्ट व्यवस्था गरेको छ ।
तर, सोमबारदेखि झापाको दमकमा रास्वपाका उम्मेदवार बालेन्द्र शाहकी श्रीमतीको अगुवाइमा घरदैलो सुरु भएको छ । बालेन्द्र भने पश्चिमतिर लागेका छन् ।
रास्वपाले माघ ५ मा जनकपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए। उनले माघ ६ गते प्रतिनिधि सभा सदस्यका लागि झापा ५ बाट उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्लाको यात्रा गर्दै सोमबार पश्चिमतिर लागेका हुन्।
बालेन पश्चिमतिर लागेको वेला उनको क्षेत्रमा पत्नी सविनाले चुनावी प्रचारमा जुटेकी हुन् । बिहानैदेखि काफ्ले सहितको टिम घरदैलोमा सहभागी भइरहेको उनको सचिवालयले जनाएको छ।
झापा क्षेत्र नं. ५ अन्तर्गत दमक नगरपालिका ९ मा रास्वपाले आयोजना गरेको मतदाता भेटघाट र घरदैलो कार्यक्रम काफ्ले सहभागी भएकी हुन् । उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोकहुँदै फेरि उराव बस्तीमै पुगेको थियो।
मतदाता भेटघाट र घरैदलो कार्यक्रम निरन्तर रहने पार्टीले जनाएको छ । कमल गाउँपालिका ५ स्थित पाडाजुगी चोकबाट पनि घरदैलो सञ्चालन हुने बताइएको छ ।
निर्वाचन आयोगले मनोनयन पत्र दर्ता गर्न जाने क्रममा २५ जनाभन्दा धेरै सहभागी हुन नपाउने आचारसंहिमता जारी गरेको छ । तर, माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने क्रममा पनि बालेनका सयौं समर्थक निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । त्यसबारे अन्य उम्मेदवारले आपत्ती जनाएको भएपनि आयोगलले उनलाई स्पष्टिकरण समेत सोधेन ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।