लोड हुँदैछ...

मेनु

निर्वाचन आयोगले सोध्यो हर्क साम्पाङलाई स्पष्टिकरण

निर्वाचन आयोगले सोध्यो हर्क साम्पाङलाई स्पष्टिकरण

धरान । निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई लिएर निर्वाचन आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई स्पष्टीकरण सोधेको छ ।

आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङलाई चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिताअनुसार बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी गतिविधिमा प्रयोग गर्न नपाइने व्यवस्था छ। सोही व्यवस्था उल्लंघन भएको प्रारम्भिक निष्कर्षका आधारमा आयोगले प्रक्रिया अघि बढाएको जनाएको छ।

धरानमा चुनावी प्रचारमा बालबालिका प्रयोग गरिएको भन्दै नगर बाल सञ्जालले श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष साम्पाङविरुद्ध उजुरी दर्ता गराएको थियो । नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्मासहित चार जनाले निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा लिखित उजुरी दिएका हुन्। उजुरीमा बालबालिकालाई पार्टीको चुनावी प्रचारप्रसारमा प्रयोग गरी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता उल्लंघन गरिएको उल्लेख छ।

शनिबार धरान–१८ स्थित साम्पाङको कार्यालय आसपास श्रम संस्कृति पार्टीको टिसर्ट लगाएका बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विषय थप चर्किएको हो। उक्त घटनाबारे निर्वाचन अधिकृत दिव्यराज घिमिरेले तथ्य संकलन गरी निर्वाचन आयोगसँग परामर्श गरेर प्रक्रिया अघि बढाइने जानकारी दिए। आचारसंहिता उल्लंघन पुष्टि भएमा एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्दसमेत हुन सक्ने उनले बताए।

यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा सरकारी गाडी प्रयोग गरिएको विषय आचारसंहिता विपरीत भएको ठहर आयोगले गरेको हो। निर्वाचन प्रचारप्रसारका क्रममा सार्वजनिक पदाधिकारीले सरकारी स्रोत–साधन प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था आचारसंहितामा उल्लेख छ।

आयोगले दुवै घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष र कानुनसम्मत निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds