धरान । राजनीतिक दलहरूले तत्कालीन नगर प्रमुख तथा खानेपानी बोर्डका अध्यक्ष हर्कराज राई (साम्पाङ) विरुद्ध आन्दोलन गर्ने क्रममा तोडफोड भएको धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारको बोर्ड तत्काल मर्मत गर्न कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले निर्देशन दिएका छन् ।
आइतबार बसेको कार्यपालिका बैठकमा वडा नं. १६ का अध्यक्ष मुरारी भट्टराईले भत्किएको प्रवेशद्वारबाट नगरमा प्रवेश गर्दा उपमहानगरपालिकाको गरिमा कमजोर देखिने भन्दै तत्काल मर्मत गर्न ध्यानाकर्षण गराएका थिए । कार्यपालिका सदस्यहरूले ताली बजाउँदै सर्वसम्मत रूपमा मर्मत गर्ने प्रस्ताव पारित गरेपछि बेघाले यस्तो निर्देशन दिएका हु्न् ।
प्रशासन महाशाखालाई तत्काल मर्मत सम्पन्न गर्न बेघाले निर्देशन दिएका हुन्। निवर्तमान नगर प्रमुख हर्क साम्पाङले खानेपानी महशुल वृद्धि गरेपछि राजनीतिक दलहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा आक्रोशित समूहले उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारको बोर्ड तोडफोड गर्दा बोर्ड कुच्चिएकोमा साम्पाङले आफू पदमा रहँदासम्म बोर्ड मर्मत गर्न दिएनन् ।
कार्यपालिका बैठकले उपमहानगरपालिकाको प्रशासन महाशाखा प्रमुखको नेमप्लेट फाल्ने, सार्वजनिक सूचना च्यात्ने तथा झुटो विवरण तयार गरी प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंको रमाना पत्र बनाउने कार्यमा संलग्न कर्मचारी प्रज्ञादेवी निरौलामाथि कारबाही गर्ने निर्णय गरेको छ। दशौं तहकी अधिकृत कर्मचारी निरौलाले कर्मचारी आचरण विपरीत गम्भीर गल्ती गरेको ठहर गर्दै सुशासन तथा संस्थागत विकास समितिले कारबाहीको सिफारिस गरेपछि कार्यपालिका बैठकले उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेश, विराटनगर फिर्ता पठाउने निर्णय गरेको हो ।
निरौलाले शुक्रबार प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाको नेमप्लेट फाल्नुका साथै टाँसिएको सार्वजनिक सूचना च्यातेकी थिइन् । उनले बन्द रहेको प्रशासन महाशाखाको कार्यकक्षको ढोका तोडफोड गरी खोलिदिन्छु भन्दै अशिष्ट शब्द प्रयोग गरेको पुष्टि भएको छ।
प्रमुख प्रशासकीय अधिकृत चौलागाईं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौं गएको समयमा निरौलाले व्यक्तिगत विवरणसमेत झुटो तयार गरी गैरकानुनी रूपमा कार्यालयको लेटरप्याड र छाप प्रयोग गर्दै मास सिस्टमबाट चलानी नम्बर निकालेर आफैं हस्ताक्षर गरी रमाना पत्र बनाएको पाइएको छ । उक्त रमाना पत्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको र कार्यालय समयपछि तयार गरिएकोसमेत कार्यपालिका बैठकलाई जानकारी गराइएको थियो।
आन्तरिक छानबिनका क्रममा देखिएका विवरण सुशासन तथा संस्थागत विकास समितिका संयोजक एवं वडा नं. १६ का अध्यक्ष मुरारी भट्टराईले प्रस्तुत गरेका थिए । प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाले प्रतिवेदन पढेर सुनाएका थिए।
बैठकले निरौलाले गैरकानुनी रूपमा तयार गरी पठाएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंको रमाना पत्र प्रथम दृष्टिमै बदनियतपूर्ण र गैरकानुनी ठहर गर्दै बदर गर्ने निर्णय पनि गरेको छ । साथै, उक्त रमाना पत्र बदर गरिएको जानकारी सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरिएको छ।
कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा अम्बिकाप्रसाद चौलागाईंलाई नै निरन्तरता दिने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा तत्काल अर्को प्रमुख प्रशासकीय अधिकृत सरुवा भई नआउने र उनको सरुवापछि आर्थिक लगायत सम्पूर्ण कामकारबाही ठप्प भएको अवस्था सिर्जना भएकाले चौलागाईंलाई नै कामकाजमा निरन्तरता दिने निर्णय गरिएको हो।
चौलागाईं २०८१ मंसिर २४ गते धरान सरुवा भई आएका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।