विराटनगर । पछिल्लो समय आन्दोलन, आगजनी र चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको छ । जेन–जी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार र राष्ट्रपति भवनसहितका संरचना जलाउन पुगेको जत्थाको काँधमा राष्ट्रिय झण्डा थियो ।
गएको चैतमा काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाई नेतृत्वको समूहले आयोजना गरेको कार्यक्रममा विध्वंश गर्ने र भाटभटेनी लुटपाट गर्न जानेहरुको काँधमा पनि राष्ट्रिय झण्डा बेरिएको देखिन्थ्यो । राष्ट्रिय सम्पत्तिमाथिको राष्ट्रिय झण्डा नै ओढेर विध्वंश मच्चाउनेमाथि कुनै कार्वाही भएको छैन ।
बिध्वंश मच्चाएको वापत मात्र हैन, राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिले पनि यस्ता गतिविधिलाई स्पष्ट रूपमा दुरुपयोगको श्रेणीमा राखेको छ। कार्यविधिले राष्ट्रिय झण्डाको प्रयोग मर्यादा र सम्मान कायम हुने गरी मात्र गर्नुपर्ने व्यवस्था गरेको छ । तर, अहिले चुनाबी चटकमा पनि राष्ट्रिय झण्डा दुरुपयोग भइरहेको छ ।
संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय झण्डालाई लुगा वा प्रचार सामग्रीझैँ प्रयोग गर्न नहुने भन्दै कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, आगजनी गर्ने वा मत माग्ने कार्य तत्काल बन्द हुनुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले पनि राष्ट्रिय झण्डा कुनै दलको पहिचान वा प्रचार सामग्री नभएकोले सरकार गम्भीर हुनुपर्ने बताए । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि सार्वजनिक रुपमा यो विषय उठाएका थिए । चुनावी अभियानका क्रममा झण्डाको जथाभावी प्रयोग, आगजनी र तोडफोडमा झण्डा बोकेर हिँड्नु राष्ट्रकै अपमान भएको उनको टिप्पणी छ।
नेपाल राजपत्रमा प्रकाशित ‘राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि २०७९’ ले झण्डाको मर्यादा र सम्मानमा आँच आउने गरी प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। झण्डा च्यात्ने, जलाउने, उल्टो राख्ने, व्यापारिक विज्ञापनमा प्रयोग गर्ने वा शरीरको छातीभन्दा तलका कपडामा राख्ने कार्यलाई निषेध गरिएको छ।
कार्यबिधिले राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कसैले पनि कार्य गर्न वा गराउन नहुने, , राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न नहुने, झण्डा च्यात्न, जलाउन, फ्याँक्न र कुनैपनि सामान पोको पार्न प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । यस्तै, यस्तै, विज्ञापनको उद्देश्यले दुरुपयोग गर्न नहुने, व्यक्तिले आफ्नो शरिरमा झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउदाँ कम्मरभन्दा माथिको भागबाहेक अन्यन्त्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन नहुने, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनैपनि भित्री÷बाहिरी कपडामा झण्डाको प्रतिक वा चित्र राख्न नहुने फहराउने प्रकृतिको (झण्डा ओह्रालेर राख्दाबाहेक) कार्यमा बाहेक अन्यन्त्र झण्डाको प्रयोग गर्न नपाइने कार्यविधिमा स्पष्ट व्यवस्था छ ।
चौतर्फी आलोचनापछि गृहमन्त्रालयले पनि राष्ट्रिय झण्डाको गरिमा विपरीत प्रयोग भए कानुनी कारबाही गरिने चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डा राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक भएकाले प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न आग्रह गरेका छन्। मुलुकी अपराध संहिता, २०७४ ले पनि राष्ट्रिय झण्डाको अपमान गरे सजाय हुने व्यवस्था गरेको छ।
निर्वाचन आचारसंहितामा पनि राष्ट्रिय झण्डाको प्रयोगलाई कडाइका साथ नियमन गरिएको छ। निर्वाचन आयोगका अनुसार चुनावी जुलुस, सभा वा रयालीमा तोकिएको सीमाभन्दा बढी झण्डा प्रयोग गरे आचारसंहिताको उल्लङ्घन मानिनेछ। आयोगले सार्वजनिक कार्यक्रमबाहेक अन्य प्रचार सामग्रीमा राष्ट्रिय झण्डा प्रयोग पूर्ण रूपमा निषेध गरेको छ।
यसैबीच नेपाली कांग्रेसले पनि चुनावी अभियानमा राष्ट्रिय झण्डाको प्रयोगबारे परिपत्र जारी गर्दै झण्डाको सम्मान र आचारसंहिताको पालना गर्न आफ्ना मातहतका निकायहरूलाई निर्देशन दिएको छ। काँग्रेसले आचारसंहितामा अनुसार १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचारमा प्रयोग गर्न, राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउन, झण्डा झुकाउने प्रचलन मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हेक्का राख्न, उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य नगर्न निर्देशन काँग्रेसले दिएको छ ।
राष्ट्रिय सम्मानका साथ कसैको शव यात्रा गरिँदा या चितामा दागबत्ती दिनुअघि मात्र मानव शरिरमा झण्डा ओढाउने प्रचलन रहेको काँग्रेसले गरेको परिपत्रमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।