लोड हुँदैछ...

मेनु

राष्ट्रियसभा निर्वाचन : सांसदको नाममा किर्ते मतदान !

राष्ट्रियसभा निर्वाचन : सांसदको नाममा किर्ते मतदान !

विराटनगर । राष्ट्रियसभा निर्वाचन अनुसार आइतबार भएको मतदानमा एक जना सांसदको मत नै चोरी भएको पाइएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाका ९२ जना सांसदमध्ये ५ जनाले मतदान गरेनन् । ८७ जनाले मतदान गरे ।

८७ जनाको लिष्टमा राप्रपाका सांसद प्रेम राज थाम्सुहाङ पनि रहेका छन् । प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईले थाम्सुहाङले मतदान गरेको रेकर्ड भएको बताए । तर, थाम्सुहाङले भने आफू तीन दिनदेखि काठमाडौंमा रहेको भन्दै मतदानमा सहभागी नभएको बताए ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रिय सभाको निर्वाचनमा आफूले मतदान नगरेको बताएका छन् । ‘म प्रेमराज थाम्सुहाङ कोशी सभा प्रदेशको हैसियतमा मतदान गरे भन्ने जस्ता विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन्, ‘म संलग्न दल राप्रपा पार्टीको पूर्ववत् निर्णय राष्ट्रिय सभाको निर्वाचनमा मतदान नगर्ने भन्ने कुरामा स्पष्ट छु । सञ्चार माध्याममा आएको समाचारमा कुनै सत्यता नभएको जानकारी गर्दछु ।’ आफूले मतदान गरेको भन्ने विषयका समाचार सच्याउन पनि उनले आग्रह गरेका छन् ।

उनले कुराकानीका क्रममा पनि आफूमाथि षड्यन्त्र भएको र भ्रम छरिएको बताए । ‘के हो, कसले गरेको हो ? मलाई अचम्म लाग्यो । एक जना पत्रकार मित्रले मलाई फोन गरेर भन्नु भयो । म अचम्ममा परें । म त काठमाडौं छु । यो दिग्भ्रमित कुरा सच्याउनको लागि अनुरोध गर्दछु ।’ उनले निर्वाचन अधिकृतसँग सोधपुछ गरेका छन् । यस्तै कानूनका जानकारहरुसँग पनि छलफल गरेको र अदालत जानेबारे सोचिरहेको उनी निकट सुरेश मिश्रले बताए ।

प्रमुख निर्वाचन अधिकृत प्रसाईले भने थाम्सुहाङले हालेको मत गणना भएर लाहा छाप लागिसकेको बताए । ‘बकाइदा परिचय पत्र देखाएर मत हालिएको छ । उहाँले मैले होइन भनेर भनेको कुरा सुनेको हो । तर, हामीले अब केही गर्न सक्दैनौं,’ प्रसाईले भने, ‘यो विषय अदालत गयो भने त्यहाँ हेर्ने होला । हाम्रो तर्फबाट यो कुरा अब सकियो ।’

निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कोशी प्रदेश अन्तर्गत मतदान नगर्ने प्रदेश सभा सदस्यहरूमा कांग्रेसकी लीलाकुमारी राई र एमालेकी यशोदा कायस्थ, राप्रपाका सविना बजगाई, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्मा मात्रै छन् । राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्टले मतदान गरे । थाम्सुहाङको नाम मतदान गर्ने भित्रै छ । एमालेका तर्फबाट बुथमा बसेका उमेश विश्वकर्माले थाम्सुहाङ आफैंले आएर मतदान गरेको दाबी गरे । ‘म चिन्छु त उहाँलाई । उहाँले बकाइदा परिचयपत्र देखाएर हाल्नु भएको छ,’ विश्वकर्माले भने ।

उता, नेकपाका नेता इन्द्रबहादुर आङ्बोले फर्जी मत हालिएको विषयमा आफूले पनि मिडियाबाट थाहा पाएको बताए । ‘यो विषयमा अहिले म धेरै बोल्दिन,’ उनले भने, ‘हामीले फर्जी मत हालियो भन्ने कुरा सुनेका छौं । अब के गर्ने भन्ने विषयमा अहिले नै बोल्न चाहन्न ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds