लोड हुँदैछ...

मेनु

राष्ट्रिय सभाको निर्वाचन : कोशीमा गठबन्धनबाट मत चुँहिदा बढ्यो नेकपाको भोट

राष्ट्रिय सभाको निर्वाचन : कोशीमा गठबन्धनबाट मत चुँहिदा बढ्यो नेकपाको भोट

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको बलियो गठबन्धन भनिए पनि मतदानमा भने ‘फ्लोर क्रसिङ’ देखिएको छ । निर्वाचनमा पराजित भए पनि नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले आफ्नो पार्टीको वास्तविक मतभारभन्दा उल्लेख्य बढी मत तान्न सफल भएका छन् ।

विराटनगरमा आइतबार भएको निर्वाचनमा नेकपाकी महिलातर्फकी उम्मेदवार नमिता न्यौपाने र दलिततर्फका उम्मेदवार खेम सुन्दासले काँग्रेस र एमालेको ‘कोर’ भोट काट्दै आफ्नो मतभार बढाएका हुन् ।

यसरी बढ्यो नेकपाको मतभार
कोशी प्रदेशमा नेकपाका १७ सांसदको मतभार ९०१ र स्थानीय तहका ३६ पदाधिकारीको मतभार ६८४ गरी कुल १ हजार ५८५ मात्रै थियो । तर, परिणाम आउँदा दुवै उम्मेदवारले गठबन्धनको मत तान्न सफल भए ।
महिलातर्फकी उम्मेदवार नमिता न्यौपानेले गठबन्धनका ५ जना प्रदेश सांसद र २२ जना पालिका पदाधिकारीको मत आफ्नो पक्षमा पारिन् । उनले सांसदबाट २६५ र स्थानीय तहबाट ४१८ गरी कुल ६८३ थप मतभार प्राप्त गरिन् ।
त्यसैगरी, दलिततर्फका उम्मेदवार खेम सुन्दासले १ जना सांसद र २१ जना स्थानीय तहका पदाधिकारीको मत तान्न सफल भए । उनले प्रदेश सभाबाट ५३ र स्थानीय तहबाट थप मत गरी ४५२ थप मतभार बटुलेका छन् ।

काँग्रेस नेता थापा भन्छन, ‘निर्विरोधको पैंचो तिरेको हुनसक्छ’
काँग्रेस र एमालेको कडा ह्वीपका बाबजुद भएको यो अन्तर्घातले गठबन्धनभित्र खैलाबैला मच्चाएको छ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपाका उम्मेदवारले काँग्रेसको भोट बढी तानेको स्वीकार गरे ।
“नेकपाले हाम्रो एकजना उम्मेदवार (सुनिल थापा) लाई निर्विरोध गराउन सहयोग गरिदिनुभयो, त्यसको पैंचो स्वरुप यता भोट गएको हुनसक्छ,’’ थापाले भने ।

यस निर्वाचनले कोशीमा काँग्रेस र एमालेबीचको सत्ता गठबन्धनमा इमानदारिताको खडेरी रहेको प्रष्ट पारेको छ । आफ्ना मतदातालाई जोगाउन नसक्नुले दुवै ठूला दलभित्रको आन्तरिक असन्तुष्टि र अन्तर्घातको चित्र छताछुल्ल भएको छ । गणितीय रूपमा एमालेका उम्मेदवार विजयी भए पनि राजनीतिक र नैतिक रूपमा भने नेकपाले गठबन्धनको किल्ला भत्काउन सफल भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds