विराटनगर । आइतबार भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् ।
राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार राप्रपाका तीनसहित पाँच प्रदेशसभा सदस्यले मतदान गरेनन् ।
मतदान नगर्नेहरूमा काँग्रेसकी लिलाकुमारी राई र एमालेकी यशोदा कायस्थसहित राप्रपाका सविना बजगाई, निमसरी राजवंशी, गोपालबहादुर विश्वकर्मा छन् । राप्रपाले निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको थियो । तर, राप्रपाबाट सभामुख रहेका अम्बरबहादुर विष्टले भने मतदान गरेका छन् । राप्रपाकै प्रेमराज थाम्सुहाङले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले थाम्सुहाङले मतदान गरेको बताएपनि उनले आफूले मतदान नगरेको बताएका छन् । उनले पार्टीले मतदान नगर्नु भनेको र आफू काठमाडौंमा रहेकोले मतदान नगरेको दावी गरे । ‘पार्टीले मतदान नगर्नु भनेको थिए, म काठमाडौंमा छु’ उनले भने, ‘पार्टीको निर्देशन अनुसार मतदान गरिएन ।’
तपाईको नाम मतदान गर्नेको सुचीमा रहेको छ नि भन्ने प्रश्नमा थाम्सुहाङले त्यसबारे आफूलाई जानकारी नभएको बताए । निर्वाचन कार्यालयले पनि यसरबो अनविज्ञता जनाएको छ ।
सम्बन्धित व्यक्तिले मतदान नगरेको बताइरहँदा उनको नाममा कसले मतदान गर्यो भन्ने प्रश्न उठेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।