लोड हुँदैछ...

मेनु

कोशीमा राष्ट्रिय सभा निर्वाचन : मतगणना सुरु, केही बेरमा नतिजा आउने

कोशीमा राष्ट्रिय सभा निर्वाचन : मतगणना सुरु, केही बेरमा नतिजा आउने

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा मतदान कार्य सम्पन्न भई मतगणना सुरु भएको छ । विराटनगरस्थित निर्वाचनस्थलमा केही बेरअघिबाट मतगणना सुरु गरिएको र आजै साँझसम्म अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा कोशी प्रदेशका कूल १४ जना जनप्रतिनिधि अनुपस्थित रहेका छन् । ९२ जना प्रदेश सभा सदस्यमध्ये ८७ जना र २६७ स्थानीय तहका पदाधिकारीमध्ये २५८ जनाले मात्र मतदान गरेको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

आजको निर्वाचनमा ५ जना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेनन् । मतदान नगर्ने प्रदेश सांसदहरूमा नेपाली काँग्रेसकी लिलाकुमारी राई, एमालेकी यशोदा कायस्थ तथा राप्रपाका सविना बजगाई, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्मा रहेका छन् । राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्ट र प्रेम थाम्सुहाङले भने मतदान गरेका छन् ।

त्यस्तै, स्थानीय तहतर्फ ९ जना प्रमुख तथा उपप्रमुखहरू मतदानमा सहभागी भएनन् । जसमा एमालेका भीम योङ्हाङ, काँग्रेसका रविन साम्रा लिम्बू र नावाङ लाक्पा शेर्पा, राप्रपाका रविन्द्र लिङ्देन, लक्ष्मीदेवी मैनाली, राधा कार्की र राम थापा रहेका छन् । यस्तै, नेकपाबाट निर्वाचित सीता राई र जसपाका गोम्बु शेर्पाले पनि मतदान गरेनन् ।

कोशी प्रदेशका ३ रिक्त पदमध्ये अन्य तर्फ नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी २ पद दलित र महिलाका लागि चार जना उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ ।

निर्वाचनमा काँग्रेस, एमाले र जसपाको गठबन्धनबाट एमालेका सोम पोर्तेल दलित र रोशनी मेचे महिला चुनावी मैदानमा छन् भने अर्कोतर्फ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपाने उम्मेदवार छन् ।

मतगणना सुरु भइसकेकाले अबको केही घण्टाभित्रै कोशी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नयाँ सदस्यहरूको फैसला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds