विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले घरदैलो अभियान सुरु गरेका छन्।
आइतबार बिहान धरान–१४ करम डाँडाबाट अभियानको सुरुवात गर्दै उम्मेदवार सूर्यबहादुर भट्टराई ‘मनोज’ले मतदाताको घर–घरमा पुगेर भोट माग्न थालेका हुन्।
घरदैलोका क्रममा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी गराएका छन्। जनतालाई सम्बोधन गर्दै उनले आफू एकता, सद्भाव र विकासको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताए। धरानको दीर्घकालीन खानेपानी समस्याको समाधानलाई प्रमुख राजनीतिक प्राथमिकता बनाएको उल्लेख गर्दै उनले यस विषयमा ठोस पहल गर्ने प्रतिबद्धता जनाए।
भट्टराईले धरान–१४ लाई धार्मिक तथा ऐतिहासिक वडाका रूपमा घोषणा गर्ने योजना पनि अघि सारेका छन्। यसले वडाको पहिचान मजबुत हुनुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय विकासमा सहयोग पुग्ने उनको भनाइ छ। साथै, सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको बताउँदै नयाँ सुकुम्वासी थपिन नदिने र हाल रहेका सुकुम्वासीहरूको व्यवस्थित व्यवस्थापन गर्ने नीति लिइने स्पष्ट पारे।
आफ्नो कार्यकालमा घर नम्बर, खानेपानी र बिजुली जस्ता आधारभूत सुविधाको सुरुवात गरिएको स्मरण गराउँदै उनले व्यवस्थित बस्ती विकासप्रति आफू प्रतिबद्ध रहेको बताए। धरानका मेयर हर्क साम्पाङसँगको सम्बन्धबारे उनले व्यक्तिगत इगो नभई वैचारिक र कार्यशैलीगत असहमति मात्र रहेको प्रस्ट पार्दै खराब कार्यशैलीको आलोचना गरिएको हो, व्यक्तिगत आक्षेप नरहेको दाबी गरे।
घरदैलो अभियानलाई तीव्र बनाउँदै उम्मेदवार भट्टराईले आगामी दिनहरूमा सुनसरी १ का विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।